अफ्रिकाको विश्वकप यात्रा समाप्त

  • 1 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption प्रतिस्पर्धात्मक खेलमा जर्मनीले थप गरिएको समयमा ‍निर्णायक गोल गर्यो

अल्जेरिया र नाइजेरिया पराजित भएपछि ब्राजीलमा जारी विश्वकप फुटबलमा अफ्रिकी राष्ट्रको यात्रा टुंगिएको छ।

३२ वर्षपछि पाएको जर्मनीसँग बदला लिने अवसर अल्जेरियाले चुकायो भने निक्कै संघर्ष गरे पनि नाइजेरियाले फ्रान्ससँगको हार टार्न सकेन।

सोमबारको नतिजापछि जर्मनी र फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा पुगेका छन्।

विश्वकप दौडबाट बाहिरिए पनि दुवै अफ्रिकी टोली नाइजेरिया र अल्जेरियाले खेलमा प्रशंसा भने वटुल्न सफल भए।

संघर्षपूर्ण

जर्मनीले अल्जेरियालाई एकका विरुद्ध दुई गोलले पन्छाउन थप समयसम्म संघर्ष गर्नुपर्यो।

तस्वीर कपीराइट AFP
Image caption पराजयको पिडा: निरास मुद्रामा अल्जेरियाका प्रशिक्षक

जर्मनीले ३२ वर्ष अगाडि मिलेमतो गरेर अल्जेरियालाई समूह चरणबाट उक्लिन नदिएको भन्ने गरिएको घटनाको वदलाको अवसरमा उक्त खेललाई लिइएको थियो।

सन् १९८२ को विश्वकपमा पश्चिम जर्मनी र अष्ट्रियाले एक विवादास्पद खेलमा आफू अनुकुल नतिजा निकालेका कारण अल्जेरिया बाहिरिएको थियो।

तस्वीर कपीराइट AFP
Image caption झरीसँग जुध्दै बर्लिनमा समर्थकहरुले ठूलो पर्दामा विश्वकप हेरेका थिए

मंगलबार बिहान भएको खेलमा सवै तीन गोल थप गरिएको समयमा भएको थियो जसमा जर्मनीले दुई गोलको अग्रता लिए पनि खेल सकिनु अन्तिम मिनेटमा अल्जेरियाले एक गोल फर्काएको थियो।

अल्जेरियालाई पन्छाएको तीन पटकको विश्व विजेता जर्मनीले अव क्वार्टर फाइनलमा फ्रान्सको सामना गर्नेछ।

नमिठो

फ्रान्सले अर्को अफ्रिकी टोली नाइजेरियालाई दुई गोलले पन्छाएको थियो।

तस्वीर कपीराइट AP
Image caption फ्रान्सले अब जर्मनीसँग क्वार्टर फाइनलमा खेल्नेछ

फ्रान्सलाई खेल सकिनै लाग्दा नाइजेरियाका कप्तान जोसेप योबोले आत्मघाती गोलको रुपमा उपहार दिएका थिए।

यो गोल उनको राष्ट्रिय टोलीको लागि नमिठो सम्झना पनि बन्न पुग्यो।

खेल पछि ३३ वर्षिय योबोले राष्ट्रिय टोलीबाट सन्न्यास लिए भने प्रशिक्षक स्टेफन केशीले पनि राजीनामा दिएका थिए।