विवाहित छोरीलाई पनि सम्पति दिने प्रस्ताव

  • 1 जुलाई 2014
एक महिला
Image caption खासगरी घर व्यवहारले थिचिएका महिलालाई प्रस्तावित कानुनले खुशी दिने अधिकारकर्मीहरु बताउँछन्

लैंगिक विभेद हटाउने भन्दै सरकारले विवाहित वा अविवाहित छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिने व्यवस्था भएको विधेयक संसदमा दर्ता गरेपछि त्यसबारेको चर्चा चुलिएको छ।

मुलुकी ऐनको व्यवस्थाले महिला र पुरुषबीच थुप्रै विभेद गरेको भन्दै सरकारले जेठ अन्तिम साता उक्त ऐनका विवादित व्यवस्था संशोधन गर्न संसदमा विधेयक दर्ता गरेको छ।

छलफल हुन बाकीँ उक्त विधेयक जस्ताको त्यस्तै पारित भए त्यसले यो ऐन संशोधन हुनु पहिल्यै विवाह गरिसकेका छोरीलाई पनि बाबु-आमाबाट पैतृक सम्पतिमा दाजुभाई सरह समान अंश पाउने अधिकार हुनेछ।

विधेयकको उक्त व्यवस्थाबारे कानुन मन्त्रालयका प्रवक्ता टेकप्रसाद ढुंगानाले भने, “पहिला विवाह गर्ने छोराले पाउने छोरीले नपाउने भन्दा विभेद देखिने भएकोले त्यसलाई हटाउन यो विधेयक ल्याइएको हो।”

'हिंसा कम हुने'

सर्वोच्च अदालतले विभिन्न मुद्दामा महिला-पुरुषबीच समानता कायम गर्न ऐन नै संशोधन गर्न दिएको निर्देशनात्मक आदेशहरुको आधारमा यो विधेयक तयार गरिएको ढुंगानाले बताए।

सामाजिक परिवेशले विवाहपछि छोरीको आर्थिक पाटो कमजोर हुने हुँदा हिंसा खेप्नु परिरहेको भन्दै यो विधेयक आवश्यक रहेको एक महिला अधिकारकर्मी रेणुराज भण्डारीले बताइन्।

उनले भनिन्, “विवाह गरेपछि अब सम्पत्ति केही छैन, श्रीमानकै भरमा त हो नि भनेर जुन हिंसा महिलामाथि भइरहेको छ, त्यसलाई तोड्न पनि यो आवश्यक छ।”

यसअघि पनि छोराछोरीलाई अंशमा समान हैसियत दिन भन्दै २०५९ मा मुलुकी ऐनको ११ औं संशोधन भएको थियो।

तर त्यो ब्यवहारिक रुपमा खासै कार्यान्वयन नभएको बेला अहिलेको विधेयकमा कुनै फेरबदल नभइ सभासदहरुले बहुमतबाट पारित गर्नेमा कतिपयले आशंका व्यक्त गरेका छन्।