फ्रान्सका पूर्वराष्ट्रपतिसंग प्रहरीद्वारा सोधपूछ

  • 1 जुलाई 2014
सार्कोजी तस्वीर कपीराइट AFP
Image caption सार्कोजीले सन् २०१७ मा पुन: राष्ट्रपतिको निर्वाचनमा भिडने ठानिएको बेला पछिल्ला घटना सामु आएका छन्

आफु सम्बन्धित एक मुद्दामा अनुचित प्रभाव पार्न खोजेको अभियोगमा फ्रान्सका पूर्व राष्ट्रपति निकोला सार्कोजी सहित उनका एक जना वकिल र दुई मजिष्ट्रेटहरुलाई पनि सोधपुछको निम्ति प्रहरीले हिरासतमा लिएको छ।

हाल सार्कोजीलाई पेरिस शहरको ठिक बाहिर रहेको नान्टेयर भन्ने ठाउँमा सोधपुछका लागि हिरासतमा राखिएको छ।

अनुचित प्रभाव प्रयोग गरेको अभियोगमा एक पूर्व राष्ट्रपति विरुद्ध चालिएको यो एक अभूतपूर्व कदम हो।

उनीसंग निर्वाचन प्रचारप्रसार कोषको अनुसन्धानसंग सम्बन्धित मामिलामा न्यायाधीशसंग भित्री जानकारी प्राप्त गर्न खोजेको बारे सोधपुछ गरिंदैछ।

पेरिसस्थित बीबीसी सम्वाददाता ह्यू स्कोफिल्ड भन्छन्, “पुनरावेदनको उच्च न्यायालयमा सार्कोजीका निकट एक न्यायाधीश रहेको जसले अवैध भनिएका दलका खर्चबारेको अनुसन्धानका भित्री जानकारी उनलाई दिने गरेको दावी गरिएको छ। साथै ती न्यायाधीशले अन्य न्यायाधीशलाई प्रभावमा पारी सार्कोजीलाई फाइदा पुग्ने गरी निर्णय गर्न खोजेको दावी पनि गरिएको छ।”

छानबिन

कतै सार्कोजीले एक उच्च पदमा रहेका न्यायाधीशलाई अनुसन्धानका भित्री जानकारीको बदला मोनाकोमा एक प्रतिष्ठित भूमिका दिने वाचा गरेका हुन् कि भन्ने बारे अनुसन्धानकर्ताहरुले खोजबीन गरिरहेका छन्।

उनीहरुले अनुसन्धानको सिलसिलामा सार्कोजीको फोनलाई निरीक्षण गरिरहेको जानकारी सार्कोजीलाई पहिल्यैनै दिइएको थियो कि भन्ने बारे पनि छानबिन गरिरहेका छन्।

सार्कोजी तथा उनका समर्थकहरुले यी आरोपहरुको कडा खण्डन गरेका छन्।

समाजवादीहरुको वर्तमान सत्ता तथा न्यायालयमा रहेका वामपन्थी तत्वहरुले राजनैतिक इवी साँध्न यो प्रकरण रचेको उनीहरुको भनाई छ।

जब जब सार्कोजी राजनीतिक जीवनमा फर्कन खोज्छन् तब तब अनुसन्धानमा नयाँ मोडहरु मिडियामा देखा पर्ने गरेकोप्रति उनीहरुले शंका व्यक्त गरेका छन्।

सरकारका प्रवक्ताले न्यायालयमाथि कुनै राजनीतिक दबाब नदिइएको जनाएका छन्।

फ्रान्सका कुनैपनि पूर्व राष्ट्रप्रमुखलाई प्रहरीले हिरासतमा लिएको यो नै पहिलो घटना ठानिएको छ।

यसअघि सार्कोजीभन्दा पहिलेका राष्ट्रपति ज्याक शिराकलाई अनियमितताको अभियोगमा सन् २०११ मा कैद सजाय सुनाइएको थियो, जसको कार्यान्वयन स्थगित गरिएको थियो।

प्रारम्भिक चरणमा अनुसन्धानकर्ताहरुले सार्कोजीलाई करीब २४ घण्टा हिरासतमा राख्न सक्नेछन् जुन थप एक दिनका निम्ति लम्ब्याउन सकिनेछ।

यी पछिल्ला घटनाहरुले सार्कोजीको सन् २०१७ मा राष्ट्रपतीय निर्वाचनमा पुन: भिडने योजनालाई नोक्सानी पुग्ने ठानिएको छ।