२८ वर्षपछि बेल्जियम क्वार्टर फाइनलमा

  • 2 जुलाई 2014
तस्वीर कपीराइट GETTY
Image caption साओ पाउलो स्थित रंगशलामा अर्जेन्टिनी समर्थकहरु

अर्जेन्टिना र बेल्जियम ब्राजीलमा जारी विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

थप समयमा निर्णय भएका खेलहरुमा बेल्जियमले अमेरिकालाई दुई-एकको अन्तरले तथा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई एक-सून्य गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन्।

यो संगै विश्वकपको क्वार्टरफाइनलमा अब अर्जेन्टिना, बेल्जियम, ब्राजील, कोलम्विया, कोस्टारिका, नेदरल्याण्डस, फ्रान्स र जर्मनी पुगेका छन्।

साओ पाउलोमा पुगेका ४० हजार भन्दा वढी समर्थकहरुले अर्जेन्टिनाले गोल गरेको दृष्य हेर्न १ सय १८ मिनेटसम्म कुर्नु परेको थियो।

संघर्ष

उपाधीको एक दावेदार, तर जारी विश्वकपमा मध्यम स्तरको प्रदर्शन गर्दै आएको अर्जेन्टिनाले स्विट्जरल्याण्ड विरुद्ध पनि औसत खेल प्रस्तुत गरेको विश्लेषकहरुले बताएका छन्।

तस्वीर कपीराइट Getty
Image caption मैदानमा खुसी र पीडा एकैसाथ देखिएको थियो

विश्लेषक एलन हान्सेनले भने, “डि मारियो निकै भाग्यमानी हुन्, यति खराव खेल्दा खेल्दैपनि अन्तिम समयसम्म प्रशिक्षकले विश्वास गर्नु भाग्य नै हो।”

खेलमा नियन्त्रण बनाएपनि निर्धारित र थप समयमा चर्चित खेलाडीहरुको गोल गर्ने प्रयासहरु फिक्का देखिएका थिए।

अन्तत अर्जेन्टिनाका कप्तान तथा सदावहार नायक लियोनेल मेसीले विपक्षी रक्षकको घेरा तोडेर मिलाइदिएको पासमा डि मारियोले खेल सकिनु २ मिनेट अगाडि गोल गरेपछि टोलीले ० का विरुद्ध १ गोलको नतिजा निकालेको हो।

तस्वीर कपीराइट AFP
Image caption अर्जेन्टिनाका लागी डि मारियोले गोल गरेका थिए

त्यस लगतै अन्तिम समयमा स्विट्जरल्याण्डको प्रहार गोलपोष्टमा ठोक्किएर फर्किदा अर्जेन्टिना सम्भावित पेनाल्टी शुट आउटबाट जोगिएको थियो।

क्वार्टर फाइनलमा अर्जेन्टिनाले अव बेल्जियमको सामना गर्दैछ।

नायक

बेल्जियमले अमेरिकालाई एक का विरुद्ध दुई गोलले पराजित गर्दै २८ वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ।

तस्वीर कपीराइट Reuters
Image caption रंगशालामा उपस्थित रंगीविरंगी समर्थक

खेलको थप समय निकै रोचक बनेको थियो, जहां लगातार तीन गोल भएको थियो। खेलको ९३ औं र १०५ औं मिनेटमा बेल्जियमका वैकल्पिक खेलाडीहरुले टोलीलाई उकास्ने काम गरेका थिए।

बेल्जियमले यो विश्वकपमा गरेको छ वटा गोलमा चार गोल वैकल्पिक खेलाडीहरुले गरेका छन्।

तस्वीर कपीराइट AFP
Image caption थपिएको समयमा तीनवटै गोल भएका थिए

इङलैण्डका पुर्व कप्तान रियो फर्डिनान्डले भने, “यो गजवको खेल भयो, इङलिस प्रिमियर लिग हेरेजस्तै, बेल्जियमसंग निकै बलिया वैकल्पिक खेलाडीहरु छन् जसले खेल परिवर्तन गर्न सक्छन्।”

अमेरिकाका वैकल्पिक खेलाडी जुलियन ग्रिनले मैदान प्रवेश गरेर छोएकै बलमा दुर्लभ गोल गरेर अमेरिकालाई खेलमा फर्काउने प्रयास गरेका थिए।

गोलकिपर टिम होवार्डले पनि बेल्जियमका १५ वटा प्रहार बचाएका थिए, जुन विश्वकपमा सवैभन्दा वढी प्रहार रोक्ने कीर्तिमान बनेपनि यसले टोलीलाई हारबाट भने जोगाउन सकेन।