एमाले महाधिवेशन बिहीबारबाट

  • 2 जुलाई 2014
jn
Image caption पार्टी अध्यक्ष झलनाथ खनालले भने सहमति भए आफू पुन: अध्यक्ष बन्न इच्छुक रहेको बताएका छन्

राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको सत्तारुढ गठबन्धनको एक मुख्य घटक नेकपा एमालेको नवौं पार्टी महाधिवेशन बिहीबारबाट काठमाडौंमा सुरु हुंदैछ।

उक्त महाभेला सुरु हुनु पूर्व लामो समयदेखि भावी नेतृत्वलाई लिएर देखिएको तीतो आरोपप्रत्यारोप र मतभेदले सैद्धान्तिक बहसलाई ओझेलमा पारेको कतिपयले टिप्पणी गरेका छन्।

तर यसलाई लोकतान्त्रिक अभ्यासको एउटा अभिन्न हिस्साका रुपमा व्याख्या गर्दै स्वाभाविक मान्ने पनि थुप्रै छन्।

टकराव

बुटवलमा भएको आठौ महाधिवेशनको अन्त्य हुंदै गर्दा पार्टीको शीर्ष नेतृत्वले त्यहींकै तिनाउ नदीमा मनमुटाव र गुटगत राजनीति बगाएको उद्घोष त गरे तर उल्टो त्यो बग्नुको साटो बाढीकै रुपमा प्रवेश गरेको जस्तो देखियो।

नवौं महाधिवेशन नजिकिंदै जांदा नेतृत्वका परस्पर विरोधी दावेदारहरु माधवकुमार नेपाल र केपी ओली तथा उनीहरुका पक्षधरहरुले एकअर्कामाथि आरोपप्रत्यारोपकै श्रृखंला चलाए।

सामान्यतया पार्टीहरुका यस्ता भेला नीतिमाथिको सैद्धान्तिक बहस र नेतृत्व चयन वरपर समानान्तर घुम्ने अपेक्षा गरिएपनि एमालेको यो महाधिवेशन भने व्यक्तित्वको टकरावमा बढी केन्द्रित रहेको बुझाइ कतिपय जानकारहरुको छ।

वामविश्लेषक श्याम श्रेष्ठले भने, "नयां नीति र कार्यक्रमबारे कुनै बहस नै भएन। नितान्त पद र व्यक्ति केन्द्रित बहस भयो। केपी ओली कि माधव नेपालभन्नेमा केन्द्रित भयो। यो महाधिवेशनको सबैभन्दा ठूलो दरिद्रता यही भयो भन्ने लाग्छ मलाई।"

नीति

नीतिगत रुपमा एमालेको नयां नेतृत्वका प्रत्यासीहरुबीच अहिले त्यति दूरी भने देखिैदैन।

दुवै पक्षका नेताहरु सम्मिलित पार्टीको केन्द्रीय समितिले समाजको चरित्र, पार्टीको मागदर्शक सिद्धान्त भनिएको बहुदलीय जनवाद जस्ता विषयमा समेटिएको अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिसकेको छ भलै त्यो महाधिवेशनमा छलफल हुन बांकी नै किन नहोस्।

महाधिवशेन पूर्व नै यसरी राजनीतिक मुद्दाहरु समाधान भइसकेको भन्दै कतिपय विश्लेषकहरु चाहिं अब नेतृत्वमा बढी केन्द्रित हुनु स्वाभाविक भएको ठान्छन्।

राजनीतिशास्त्री कृष्ण पोख्रेलले भने, "यसपालि खासगरी दुईवटा कारणले, एउटा राजनीतिक मुद्दाहरु पहिलेनै समाधान भएकाले र अघिल्लो महाधिवेशनले बहुपदीयमा जाने भनिसकेकाले यसपटक नेतृत्वमा बढी केन्द्रित भएको हो।"

अड्कलबाजी

नेतृत्व चयनको यस्तो बहससंगै त्यसले राष्ट्रिय राजनीतिमा पार्नसक्ने सम्भावित प्रभावबारे पनि अड्कलबाजी सुरु भइसकेका छन्।

यो सरकारलाई एक वर्षका लागि साथ दिएको भनिएको एमालेको नयां नेतृत्वले सत्तारुढ कांग्रेससंग कस्तो सम्बन्ध राख्ला? अनि नयां संविधानसभाले राष्ट्रपतिलाई नचिनेको भन्दै राष्ट्रपति अनुमोदनको माग गर्ने नेताहरुको अडान महाधिवेशनपछि कस्तो रहला? भन्ने जस्ता प्रश्नहरु विभिन्न वृत्तमा उठाइएको देखिन्छ।