'बाबुआमाले इच्छाएको व्यक्तिलाई मात्र अंश'

  • 2 जुलाई 2014
तस्वीर कपीराइट BBC Nepali Binita Dahal
Image caption बाबुआमामा सम्पत्तीको हक रहने व्यवस्था कतिपय देशमा लागू भैसकेको छ

सरकारले बाबुआमाले आफूलाई मनपरेको व्यक्तिलाई पैत्रिक सम्पत्ति अंश दिन सक्ने प्रावधान सहितको कानूनको मस्यौदा गरिरहेको जनाएको छ।

विद्यमान मुलुकी ऐनलाई विस्थापित गर्न ल्याउन लागिएको देवानी संहिता नामक उक्त कानुन अबको करिब दश वर्षमा लागू हुने प्रस्ताव गरिएको कानुन मन्त्रालयले जनाएको छ।

उक्त व्यवस्था जस्ताको तस्तै अनुमोदन भए त्यसपछि छोराछोरीले बाबुआमासँग कुनै अंशका लागि दाबी गर्न पाउने छैनन्।

आत्मनिर्भर

बाबुआमाले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति मनपरेको व्यक्तिलाई इच्छापत्र गरी दिनसक्ने हुँदा त्यसले अंशमा निर्भर हुने प्रवृत्ति हटाउन यो विधेयक तयार गरिएको सरकारले बताएको छ।

कानुनमन्त्रालयका प्रवक्ता टेकप्रसाद ढुंगानाले विधेयकको व्यवस्थाबारे भने, “छोराछोरीलाई राम्रो शिक्षादिक्षाको अवसर दिनु महत्वपूर्ण हुन्छ त्यसैले बाबुआमाको अंश कुरेर बस्ने र नदिए मुद्दामामिला गर्ने अहिलेको व्यवस्था हटाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।”

पश्चिमा मुलुकहरुमा जस्तै सम्पत्ति इच्छाको आधारमा दिन पाइने व्यवस्था संसदबाट पारित भए विक्रम सम्वत २०८० बाट त्यो कार्यान्वयन हुनेछ।

अव्यवहारिक

तर , देवानी कानुनमा दख्खल राख्ने वरिष्ठ अधिवक्ता हरिहर दाहाल अबको ९ वर्षमा सामाजिक संरचनामा ठूलो परिवर्तन नआउने भन्दै बाबुआमामा मात्रै अंशको एकाधिकार रहने व्यवस्था व्यवहारिक नहुने तर्क गर्छन्।

उनले भने, “बाबुआमामा मात्रै सम्पत्तिको हक रहँदा त्यसले मन परेका सन्तानलाई काखा र मन नपरेकालाई पाखा गर्ने प्रवृत्ति बढ्छ त्यसैले त्यो व्यवस्था हाम्रो सामाजिक व्यवस्थामा उचित हुँदैन।”

सम्पत्तिको कारणले परिवारमा देखिने विकृति हटाउन र सन्तानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ कानुनी व्यवस्था ल्याउन लागिएको एक थरीको तर्क छ भने अर्काथरीले चाहीं त्यस्तो व्यवस्थाले दशकौंदेखिको अंशबन्डाको अभ्यासमै चुनौति दिने भन्दै आपत्ति जनाएका छन्।