नेतृत्वबारे तीव्र चासोबीच महाधिवेशन सुरु

  • 3 जुलाई 2014
Image caption नयाँ नेतृत्व चयन सर्वसम्मत होला वा चुनावबाटै होला भन्नेमा व्यापक चासो देखिन्छ।

नयाँ नेतृत्वको लागि प्रमुख दुई नेताहरुको होडबाजीसहित सत्तारुढ नेकपा एमालेको नवौं महाधिवेशन बिहीबार काठमान्डूमा शुरु भएको छ।

पूर्व महासचिव माधवकुमार नेपाल तथा हाल संसदीय दलका नेता केपी ओलीबीचको प्रतिस्पर्धा उत्कर्षमा पुगेको देखिइरहँदा दुवै पक्षका युवा नेताहरुले भने पुराना भनिएका नेताहरुका निम्ति यो अन्तिम अवसर भएको बताएका छन्।

नेता नेपाल पक्ष हुन् वा ओली पक्ष दुबैका नेताहरुले महाधिवेशनपश्चात पार्टीको नेतृत्व हस्तान्तरण मात्र नभई पुस्तान्तरण हुने बताउन थालेका छन्।

ओली पक्षधर भनिएका नेता विष्णु पौडेलले भने, “हामीले पुरानो पुस्तालाई सम्मानजनक ढंगले विदा गर्ने चरणमा प्रवेश गरेका छौं। अहिले हस्तान्तरणबाट अघि बढ्छौं र पुस्तान्तरणमा पुग्छौं।”

हस्तान्तरण

विगतमा अठ्ठाइस सालको झापा विद्रोहताका उदाएको र छत्तीस सालसम्म पार्टीलाई डो-याएको नेतृत्वकै हातमा अझै पार्टीलाई राखि राख्न उनीहरुले अरुचि देखाएका छन्।

नेपाल पक्षधर भनिएका नेता योगेश भट्टराईले भने, “नेकपा एमालेको नेतृत्वको हिसाबले यो महाधिवेशन सन्ध्याकालीन नै हो। यसले पुरानो पुस्ताको नेतृत्वलाई अन्तिम अवसर दिएको छ। आउने दशौं महाधिवेशनमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ।”

हस्तान्तरण र पुस्तान्तरणका प्रसंग जबरजस्त ढंगले उठेका भएपनि यसपालि चाहिँ पुरानै भनिएका पुस्ताका दुई नेताबीच कडा टक्कर हुँदैछ।

महाधिवेशनस्थलमा कार्यकर्ता तथा नेताहरुसंग कुरा गर्दा नेता नेपाल र नेता ओलीबीचको टकराव सहजै अनुभव गर्न सकिन्थ्यो।

प्रतिस्पर्था

तर उद्घाटन सत्रमा दुवै नेताहरुले शालीनतापूर्वक आफ्ना भनाइ राखेका थिए।

नेता माधवकुमार नेपालले भने, “कस्तो नेतृत्वको चयन गर्ने भन्ने पनि हामी छिट्टै टुंगो लगाउँछौं। हामी सर्वसम्मतबाट नेतृत्व चयन गर्ने अधिकतम प्रयास गर्छौं। त्यो नभएर प्रतिस्पर्द्धामा गए पनि आत्तिहाल्ने अवस्था छैन।”

लामो समयदेखि अस्वस्थ रहँदै आएका ओलीले कार्यक्रममा मन्तव्य राख्दा नेतृत्व होडबाजीको प्रसंगनै कोट्याएनन्।

बरु उनले पार्टीका सामु रहेका पछिल्ला चुनौतीको विश्लेषण गर्दै भने, “राजनीतिकरुपमा हामी यथास्थितिवादसँग प्रतिस्पर्द्धा गरिरहेका छौं र गर्छौं। तर वैचारिक रुपमा फेरि पनि हामी वैचारिक संघर्ष उग्रपन्थसँग गर्छौं।”

बिहीबारको उद्घाटन सत्र पश्चात् अब महाधिवेशनमा बन्द सत्रहरु हुने र सहमति हुन नसके निर्वाचनमार्फत नयाँ नेतृत्वको चयन हुने बताइएको छ।