विरोधीहरुमाथि आक्रमण गर्दै आईएसआईएस

  • 4 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption आईएसआईएस आक्रमणपछि झन्डै १० लाख विस्थापित भैसकेका छन्

इस्लामी उग्रवादी समूह आईएसआईएसले कब्जा गरेका स्थानहरुबाट भागेका इराकी शरणार्थीहरुले आफ्ना विरोधी र गैह्र सुन्नीहरुलाई सो संगठनले योजनाबद्ध रुपमा आक्रमण गरिरहेको बीबीसीलाई बताएका छन्।

मोसूल शहरका एक जना पूर्व प्रान्तीय नेताका अनुसार सरकारी निकाय वा सुरक्षा फौजमा कार्यरत मानिसहरुलाई आईएसआईएसलाई समर्थन जनाउन वा सम्भावित मृत्युदण्डको लागि तयार रहन चेतावनी दिइएको छ।

आईएसआईएसले मोसुलका विभिन्न क्षेत्रहरुमा गैरसुन्नी समुदायलाई निशाना बनाइरहेको मानवअधिकारवादी संमूहहरुले बताएका छन्।

पछिल्ला महिनाहरुमा उक्त संगठनले मोसुल, टिक्रीट र उतर पश्चिमका अन्य शहरहरु कब्जा गरेपछि झन्डै १० लाख इराकीहरु घर छाडेर भागेका छन्।

त्रास

जून महिनामा मात्र साढे २४ सय मानिसहरु मारिएको संयुक्त राष्ट्रसंघ र इराकी अधिकारीहरु बताउँछन्।

कुर्दहरुको नियन्त्रणमा रहेको तल अफार नजिकैको सिनजार नगरका शरणार्थीहरुले बीबीसी सम्वाददातालाई दिएको जानकारी अनुसार आईएसआईएसले उनीहरुले छाडेर आएका गाउँ र शहरहरु श्रृंखलाबद्ध रुपमा खाली गराइरहेको छ।

विस्थापित भएका मध्ये धेरै सिया, इसाई र कुर्दहरु छन्।

बिद्रोहीहरुको हिरासतमा १६ दिनसम्म बसेका एक जना कुर्द हसनले भने “यदी सियाहरु अन्य बन्दीसँग साट्न सकेनन् भने उनीहरुले तीनिहरुको टाउको छिनाइदिन्छन्।”

उनको परिवारले झन्डै ३० हजार डलर तिरेपछि विद्रोहीहरुले उनलाई रिहा गरेका थिए।

मोसुलबाट भागेका प्रान्तीय नेता बसर अल खिकीले आईएसआईएसले सरकारी वा सुरक्षा निकायमा काम गरिरहेका मानिसहरुको बारेमा जानकारी संकलन गरिरहेको र त्यसलाई समेटेर एउटा तथ्यांक भण्डार बनाउने तयारी गरेको बताए।

उनले भने, “इस्लाम राज्य प्रति समर्थन नगर्नेहरुलाई उनीहरुले मार्नेछन्, मोसुलबाट धेरै त्यस्ता व्यक्तीहरु वेपता भैसकेका छन्।”

मानवअधिकारवादी संगठनहरुका अनुसार उग्रवादीहरुले मोसुलमा घर-घरमा प्रवेश गर्दै गैर सुन्नी र आफ्ना विपक्षीहरुलाई तारो बनाइरहेका छन्।

यसअघि अघिल्लो हप्ता आईएसआईएसले आफ्नो नियन्त्रणमा रहेको सिरिया र इराकका भूभागमा इस्लामी राज्य बनाउने घोषणा गरेको थियो।

रिहाई

यसैबीच टर्कीले आईएसआईएसले आफ्नो नियन्त्रणमा राखेका ३२ लरी चलाकहरु आफ्ना कुटनीतिज्ञलाई बुझाएको जनाएको छ।

झन्डै ५० जनाको टर्कीश नागरीकहरुको समूह अझै पनि बिद्रोहीको नियन्त्रणमा रहेको जनाइएको छ।

रिहा भएपछि टर्कीश ट्रक चालकहरुले सिमा पारका आफ्न्तहरुसँग भेटेका छन्।

भारतका अधिकारीहरुले झन्डै ५० भारतीय नर्स टिक्रीटमा र ४० निर्माण कामदारहरुलाई मोसुलमा फसेको बताएका छन्।