पोहरको तुलनामा एक तिहाई मात्र रोपाई

  • 5 जुलाई 2014
Image caption आधुनिक सिंचाई प्रणालीको विकाश नहुँदा अधिकांश भू-भागको खेती आकासे पानीमा निर्भर छ

पोहोरको असार २० गते सम्ममा देभभर लगभग ६० प्रतिशत रोपाई सकिएकोमा यस वर्ष अहिलेसम्म करिव २० प्रतिशत मात्रै रोपाई सकिएको बाली विकास निर्देशनालयले जनाएको छ।

पोहोरभन्दा मनसुन ढिलो सुरु भएको र देशभरी फैलिन समेत ढिलाई भएकोले यस्तो अवस्था आएको मौसम विज्ञान विभागको भनाई छ।

कृषि क्षेत्रका जानकारहरुले यस्तो अवस्थालाई मध्यनजर गरेर सिँचाइको वैकल्पिक व्यवस्था गर्न सुझाएका छन्।

प्रक्षेपण

असारमा धान रोपाईको काम तीब्र गतिमा हुनु पर्नेमा यस वर्ष पोहोरको भन्दा निकै कम वर्षा भएकोले आकासे पानीमा निर्भर नेपाली धानखेति प्रभावित भएको बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीले बताए।

उनले भने, “धान खेती ७३ जिल्लामा हुन्छ, गत वर्षसँग तुलना गर्ने हो भने यस वर्ष ६० प्रतिशत रोपाई भई सक्नु पर्थ्यो तर यो वर्ष करिव २१ प्रतिशत मात्रै रोपाई भएको छ।”

नेपालमा सामान्यतया असार लाग्नै लाग्दा मनसुन सुरु हुने गर्छ तर यस पटक ढिलो सुरु भयो।

शुक्रवार असार २० गतेबाट मात्रै देशभरी मनसुन फैलिएको र तीन दिन जति यो जारी रहने र फेरि कम हुने प्रक्षेपण गरिएको छ।

पोहोर भन्दा कम पानी परेको र देशभरी मनसुन फैलिन समेत ढिलाई भएकोले रोपाई कम भएको मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता एवम मौसमविद् शिव नेपालले बताए।

बैकल्पिक बाली

उनले भने, “पूर्वमा मनसुन सुरु हुन्छ र त्यसको दुई दिनमा मध्य क्षेत्रमा आईपुग्छ, त्यसपछि पाँचदेखि सात दिनभित्रमा पुरै नेपालमा फैलिनु पर्छ। सामान्यतया: यो हाम्रो मनसुनको प्रवृत्ति हो। अहिले १० दिन ढिलो सुरु भयो। पुरै नेपालमा फैलिन यसलाई १४ दिन लाग्यो।”

उनका अनुसार गत वर्ष मनसुन एक दिनमै पुरै नेपालमा फैलिएको थियो।

यस्तो अवस्था बारम्बार आइरहने हुनाले बैकल्पिक बालीको लागि सरकारी निकायहरुले पुर्व तयारी गर्नु पर्ने कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलले बताए।

उनले भने, “छोटो समयका धानबाली लगाउने सोंच बनाउनु पर्यो। कम पानीमा हुने विचार गर्नु पर्यो। त्यही खालको अनुसन्धान, खोजी गरेर तयार भएर बस्नु पर्यो नि। किसानले नै यो सबै गर्ने भए त यो राज्य, कृषिका प्राविधिक र सरोकारवालाहरु किन चाहियो?”

नेपालमा ८५ वर्षअघि नै चन्द्र नहर निर्माण भई आधुनिक सिंचाई प्रणालीको सुरुवात भएको थियो।

तर कृषि प्रधान भनिएपनि त्यो क्रमले तिब्रता नपाउँदा देशको अधिकांस भूभागमा हुने खेति आकासेपानी मै निर्भर छ।