'सन्दिग्ध यहुदीहरु पक्राउ'

  • 6 जुलाई 2014
दङ्गा तस्वीर कपीराइट Reuters
Image caption प्यालेस्टिनी किशोरको हत्या पछि दङ्गा भडकिएको थियो

इजरायली अधिकारीहरुले गत साता एकजना प्यालेस्टिनी किशोर मोहम्मद अबु खदेरको हत्यामा संलग्न रहेको आशंकामा कैयौं सन्दिग्ध यहुदीहरुलाई पक्राउ गरेका छन्।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन यहुदी उग्रवादीहरुले ती प्यालेस्टिनी किशोरको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो।

समाचारमाध्यमहरु तथा नाम खुलाउन नचाहने अधिकारीहरुले भने, प्रहरीले उक्त हत्या अतिराष्ट्रवादी भावनाबाट प्रेरित भएको ठानेकाछन्।

इजरायलले इजरायली किशोरहरुको अपहरण तथा हत्याकालागि प्यालेस्टिनी उग्रवादी समूह हमासमाथि दोष लगाएको छ।

तर हमासले ती आरोपहरुको खण्डन गरेको छ।

तनाव

प्यालेस्टिनी किशोर मोहमद अबु खदेरको अपहरण तथा हत्या पछि तनाव बढेको थियो।

इजरायली अधिकारीहरुले प्यालेस्टिनी उग्रवादीहरुले इजरायली भूभागमा दर्जनौं मोर्टार तथा रकेट प्रहार गरेको बताए।

त्यसको जवाफमा इजरायलले गाजामा गरेको हवाइ हमलामा दशजना प्यालेस्टिनीहरु घाइते भएको बताइएको थियो।

एकजना इजरायली अधिकारीले उग्रवादीहरुको हातहतियार बनाउने कारखाना तथा प्रशिक्षण स्थललाई निशाना बनाइएको जनाए।

पूर्वी जेरुसलममा मंगलबार राती प्यालेस्टाइनी किशोरको जलेको शव भेट्टिएपछि विरोधमा उत्रिएका प्यालेस्टाइनी युवाहरु र इजरायली दंगा प्रहरीबीच झडपहरु भएका थिए।

सत्र वर्षीय किशोर मोहम्मद अबु खदेरका परिवारले उनलाई नजिकैको मस्जिदमा प्रार्थना गर्न जान लागेको बेला एउटा कारमा जबरजस्ती हालेर लगिएको बताए।

आदेश

यसैबीच इजरायलको एक अदालतले एकजना पन्ध्र वर्षीय किशोर तारिक खदेरलाई उनको घरमै नजरबन्द राख्‍न आदेश दिएको छ।

तारिकलाई इजरायली प्रहरीले निर्घात कुटपिट गरेकेा भिडियो सार्वजनिक भएको थियो।

अमेरिकी नागरिक समेत रहेकी तारिककी आमा सुहा अबु खदेरले भनिन्, “तारिकलाई नौ दिनसम्म घरमै नजरबन्द गर्न दिइएको आदेश उचित छैन। उसलाई कुनै अभियोग लगाइएको छेन। म अमेरिकी नागरिक हुं। अमेरिकामा यस्तो गरिंदैन।”

झडप

सो घटनाले क्रुद्ध बनेका प्यालेस्टाइनी युवाहरु ती मृत किशोरको घर नजिकै इजरायली दंगा प्रहरीविरुद्ध झडपमा उत्रिएका थिए।

उनको हत्या तीनजना यहुदी विद्यार्थीहरुको अपहरण र हत्या भए लगत्तै भएकोले यसलाई बदलाको कारवाहीको रुपमा प्यालेस्टाइनीहरुले हेरेका छन्।

करीब अढाइ साताअघि अपहरित ती तीन इजरायली युवाका मृत शरीर सोमबार हेब्रोन शहर नजिकै भेटिएको थियो।

प्रधानमन्त्री नेत्यान्याहुले प्यालेस्टिनी किशोरको हत्याको निन्दा गर्दै दोषीहरुलाई सजाय दिइने वाचा पनि गरेका छन्।