इजरेलद्वारा गाजा पट्टीमा थप हवाई हमला

  • 8 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption इजरेलले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी हमासले दिएको छ

इजरेलले गाजापट्टीमा गरेको पछिल्ला हमलाहरुमा परि कम्तिमा १४ जना प्लेष्टिनीहरु घाइते भएका छन्।

घाईते हुनेहरुमा दुईजना बालबालीका र एकजना महिला पनि रहेको सुरक्षा र अस्पताल श्रोतहरुले बताएका छन्।

प्लेष्टिनी लडाकू समूह हमासद्वारा संचालित आन्तरिक मामिला सम्बन्धी मन्त्रालयका प्रवक्ताले केही घण्टाभित्र इजरेलले गाजापट्टीमा १२ वटा हवाई आक्रमण गरेको बताए।

रकेट प्रहार

तस्वीर कपीराइट AFP

उनका अनुसार त्यसको निशानामा दुईवटा घर र हमासको तालीम केन्द्र परेका थिए।

हमासले इजरेलले आक्रमण गरिरहेमा आफ्नो आक्रमणको निशाना विस्तार गर्ने चेतावनी दिएको छ।

उसले दर्जनौं रकेट प्रहार गरेपछि इजरेलले गाजापट्टी विरुद्ध थप हवाई आक्रमणहरु गरेको जनाइएको छ।

हमासले पनि एउटा वक्तव्य मार्फत मध्य र दक्षिणी इजरलेमा दर्जनौं रकेट प्रहार गरिएको बताएको थियो।

इजरेली सेनाले सोमवार एक घण्टामा गाजापट्टीबाट ४० वटा रकेट हमला भएको बताएको छ।

ती हमलामा हताहती भएको खबर छैन।

चिहानको विस्तार

त्यसपछि उसले गाजा पट्टीमा हमासका छजना सदस्यको अन्त्यष्टी भइरहेका बेला पछिल्लो आक्रमण गरेको थियो।

हमासका प्रवक्ताले आइतवार हवाई आक्रमणका क्रममा आफ्ना पाँचजना लडाकूको हत्या गरेर इजरेलले आफ्नो चिहानको विस्तार गरेको टिप्पणी गरेका थिए।

त्यसको ठूलो मूल्य इजरेलले चुकाउनु पर्ने उनको चेतावनी थियो।

तस्वीर कपीराइट Reuters

तर इजरेली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल पीटर लिर्नरले उक्त दाबी अस्वीकार गरेका छन्।

प्यालेष्टीनी एक किशोर मोहम्मद अबू खादेरको हत्या र त्यसअघि तीन इजरेली युवाको अपहरणपछि भएको हत्या पश्चात इजरेल र प्यालेष्टाइनबीच तनाव निकै बढेको छ।

आश्वासन

तीनजना युवाको हत्याको बदलाको रुपमा आफ्ना छोरा हत्या गरिएको ती प्यालिष्टीनी किशोरका परिवारको विश्वास छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ती प्यालिष्टीनी किशोरका हत्यारा विरुद्ध अधिकारीहरुले कारवाही गर्ने कुरामा उनका परिवारलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन्।

प्रधानमन्त्री नेतन्याहुले किशोरका बाबुसँग भेटेको र श्रद्धाञ्जली व्यक्त गरेको कुरा उनको कार्यालयले जनाएको छ।

हत्यामा संलग्न भएको आशंकामा छजना संदिग्ध यहुदीहरुलाई पूर्वी जेरुसलेमबाट गिरफ्तार गरेको इजरेली प्रहरीले आइतवार जनाएको छ।