'प्रचण्ड-भट्टराई सहमति नजिक'

  • 8 जुलाई 2014
Image caption स्थायी समितिको बैठक स्थगित गरेर प्रचण्डले सहमतिको लागी असन्तुष्ट पक्षसँग वार्ता गरेका हुन्

एकीकृत नेकपा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच चुलिएको विवाद तत्कालका लागि साम्य हुन लागेको दुवै पक्षका नेताहरुले दाबी गरेका छन।

उनीहरुका अनुसार लगातार दुई दिन भएको छलफलपछि दुवै नेताबीच केही बिषयलाई तत्काल टुङगो लगाउने र केही बिषयलाई बहसमा लैजाने सहमती बनेको हो।

नयाँ सहमतिले संगठन निर्माण र कार्यदिशा सम्बन्धी विवाद हल गर्ने दुवै पक्षको भनाई छ।

बिराटनगरमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले विवाद हल गर्न नसकेपछि भट्टराई पक्षले केन्द्रिय समिति सहित पदाधिकारी निर्वाचनका लागी गरेको चुनाव बहिस्कार गरेको थियो।

पहल

अध्यक्ष प्रचण्ड र नेता भट्टराई बिच बढदै गएको दुरीलाई नजिक्याउन पछिल्ला दिनहरुमा बिभिन्न प्रयासहरु भैरहेका थिए।

पूर्वनिर्धारित स्थायी समितिको बैठकहरुलाई स्थगित गरेर लगातार दुई दिन छलफल गरेका दुवै नेताहरु सहमती नजिक पुगेको भट्टराई पक्षका नेता टोपबहादुर रायमाझीले बताए।

उनले भने, “मोटामोटी रुपमा सैद्धान्तिक सहमति छ र अब व्यवहारिक रुपमा प्राविधिक रुपमा के गर्ने भन्नेबारेमा पनि कुनै न कुनै बाटो निस्कन्छ।”

भट्टराई पक्षले अस्विकार गर्दै आएको केन्द्रिय समिती बाहेकका पदमा के गर्ने भन्ने टुङगो हाल सम्म नलागेको बताएको छ।

उपाय

सगठन निर्माणको विधी, बिस्तारको आधार र कार्यदिशाका बिषयमा केही सहमति हुने र केहीलाई बहसमा लैजाने तयारी भैरहेको प्रचण्ड निकट भनिने नेता शक्तिबहादुर बस्नेतले बताए।

उनले भने, “निति, विधि र संरचनामा छलफल अघि बढाउन तयार छौ तर अहिले तत्कालका लागि पार्टी भित्र बनेकै संरचनाहरुबाट सहमति खोज्नुपर्छ भन्ने हाम्रो भनाई रहेको छ।”

केन्द्रिय समिति र पोलिटब्युरोमा निर्वाचित भएपनि भट्टराई पक्षले असहमति जनाउँदै बैठकहरुमा सहभागिता जनाएको छैन्।

सम्मेलन यता रुमलिएको जस्तो देखीएको एकिकृत नेकपा माओवादीका नेताहरुले सहमतिलाई अन्तिम रुप दिन मंगलबार पनि छलफल गर्ने भएका छन्।