ब्राजीलको हालसम्मकै लज्जास्पद हार

  • 9 जुलाई 2014
तस्वीर कपीराइट AP
Image caption जर्मनीले ब्राजील विरुद्ध सनसनीपूर्ण नतिजा निकालेको हो

फुटबलको पर्याय मानिने ब्राजीलले विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनीसँग आफ्नो इतिहासकै सबैभन्दा लज्जास्पद हार बेहोरेको छ।

बुधवार भएको सेमिफाइनलमा जर्मनीले पांच पटकको विश्व विजेता ब्राजीललाई एकका विरुद्ध सात गोलले पराजित गरेको हो।

घरेलु मैदानमा ब्राजीलले बेहोरेको उक्त हार विश्वकपको सेमिफाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा फराकिलो गोल अन्तर हो।

तस्वीर कपीराइट Getty
Image caption आफ्ना मूख्य खेलाडी नेयमार र कप्तान थिएगो सिल्भा बिना ब्राजील खेलिरहेको थियो

ब्राजीलको अहिलेसम्मकै खराब प्रदर्शन भनिएको खेलमा केही नयाँ कीर्तिमान पनि कायम भएका छन्।

अविश्वसनीय

छैठौँ पटक विश्वकप उपाधि चुम्ने लक्ष्य लिएर मैदानमा प्रवेश गरेको ब्राजीलको सपना खेल मध्यान्तरसम्म पुग्नुअघि नै चकनाचुर भैसकेको थियो।

खेल २९ औँ मिनेटमा पुग्दा जर्मनीको गोल संख्या पांच पुगिसकेको थियो र त्यसबेला सम्म बेलो होरिजन्टेको इस्टाडियो मिनेरियो रंगशालामा उपस्थित हजारौँ ब्राजीली समर्थक घर फर्कन थालिसकेका थिए।

पहेंलो रंगमा सजिएका समर्थकहरुको आँखा भिजेको दृष्य देखिन थालेको थियो।

खेलको ११ औं मिनेटमा जर्मनीले गोल गर्न सुरु गरेको थियो र त्यो ८० मिनेटमा पुगेर टुंगिएको थियो।

लथालिंग देखिएको ब्राजीली रक्षापंक्तिलाई ध्वस्त पार्दै जर्मनीले चार मिनेटको बीचमा लगातार तीन गोल गरेको थियो जसमा दोस्रो र चौथो गोलको बीच करिब तीन मिनेटको मात्र फरक थियो ।

तस्वीर कपीराइट AP
Image caption ब्राजीलले घरेलु भूमीमा ४१ खेलपछि हारेको हो।

ब्राजीलको भूमिमा ३९ वर्ष पछिको यो पहिलो खराब हार हो।

कीर्तिमान

एकपक्षीय उक्त खेलमा अरु पनि धेरै कीर्तिमान बनेका छन्।

विश्वकपको सेमिफाइनलमा आठ गोल भएको यो पहिलो पटक हो।

अझ मध्यान्तर अगाडि पांच गोल खाएको पनि यो पहिलो हो।

ब्राजीलले सन् १९९८ को फाइनलमा फ्रान्ससंग ३-० ले हारेपछि त्यो भन्दा बढी गोल अहिलेसम्म खाएको छैन।

तस्वीर कपीराइट Getty
Image caption क्लोसले ब्राजीलकै रोनाल्डोले गरेको १५ गोलको कीर्तिमान भंग गरेका हुन्।

यसै खेलमा जर्मनीका मिरास्लोभ क्लोसले गोल गरेपछि उनी १६ गोलका साथ विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

विश्लेषकहरुका अनुसार १९७० ताकाको ब्राजीलको फुटबल उत्कर्षमा थियो भने अहिलेको ब्राजीलको प्रदर्शन इतिहासकै खराब हो।

<span >निराशा

निकै निराश देखिएका ब्राजीली समर्थकहरुले भने, “प्रतियोगिताको अन्त्य हामीले यस्तो नकारात्मक नतिजामा टुंग्याउन पुग्यौं, ब्राजीली जनताका लागि यो निकै लज्जास्पद हो ।

एक विश्लेषक एलन हानसेनले भने, “शायद जर्मन खेलाडीहरुले पनि विश्वास गर्न सकेनन् होला की उनीहरुले के गरिरहेका छन्।”

तस्वीर कपीराइट AP
Image caption मध्यान्तर सम्मको खेलपछि निराश हुदँँ समर्थकहरु रंगशालाबाट बाहिरिएका थिए

खेलको अन्त्यतिर ब्राजीलका खेलाडी ओस्कारले एक सान्त्वना गोल गरेका थिए, तर त्यसमा न खेलाडीले न दर्शक कसैले खुशी मनाएनन्।

ब्राजीलका प्रशिक्षक लुइस फिलिप स्कोलारीले यो हारलाई जीवनको सबैभन्दा खराव दिन भन्दै ब्राजीली जनतासंग माफी मागेका छन्।

उनले भने, “सबै टोलीका सदस्यले उनीहरु दोषी भएको बताउँलान तर खेलाडी छनोट, रणनीति सबै म एक्लैको निर्णय हो।”

जर्मनीले अब फाइनलमा अर्जेन्टिना र नेदरल्याण्डस् विजेता संग खेल्नेछ।