गाजाबाट थप रकेट प्रहार

  • 9 जुलाई 2014
सर्वसाधारण तस्वीर कपीराइट Reuters
Image caption पछिल्लो हमलामा कैयौं प्यालेस्टिनी सर्वसाधारण पनि प्रभावित भएका छन्

इजरायली सेनाले गएराती गाजापट्टीस्थित एकसय भन्दा बढी निशानाहरुमा हवाइहमला गरेको बताइरहँदा गाजाबाट इजरायली भूभागमा रकेट प्रहार जारी रहेको छ।

प्यालेस्टिनी अधिकारीहरुले पछिल्लो द्वन्द्वमा गाजामा तीस जना भन्दा बढीको ज्यान गएको बताएका छन्।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्या गरिए लगत्तै एकजना प्यालेस्टिनी किशोरको हत्या गरिएपछि दुबै पक्षबीच तनाव बढेको छ।

प्रहार

इजरायली सेनाले मंगलबार राती गाजा पट्टीका विभिन्न निशानाहरुमा हवाइ हमला गरेपछि पनि गाजाबाट इजरायली भूभागमाथि रकेट प्रहार गर्ने कामहरु जारी छन्।

इजरायली सेनाको रेडियोले तेल अभिभ नजीकै बुधबार बिहान कम्तीमा आठवटा रकेटहरुलाई आकाशमै निरस्त पारिएको जनाएको छ।

एउटा रकेट गाजाबाट एकसय किलोमिटर उत्तरमा रहेकेा इजरायली नगर हादेरामा सम्म पुगेको थियो।

अहिलेसम्म गाजाबाट प्रहार गरिएको रकेटले पार गरेको यो नै सबैभन्दा लामो दूरी हो।

गाजास्थित चिकित्सा अधिकारीहरुले चालकरहित एक इजरायली विमानले एउटा मोटरसाइकलमा हमला गर्दा एकजना पुरुष मारिएका र अर्का एकजना घाइते भएको जनाएका छन्।

प्यालेस्टिनी अधिकारीहरुले पछिल्लो द्वन्द्वमा गाजामा तीस जना भन्दा बढीको ज्यान गएको बताएका छन्।

गाजास्थित प्यालेस्टिनी मानव अधिकार केन्द्रका अध्यक्ष राजी सुरानीले भने, "प्यालेस्टिनी सर्वसाधारणले फेरि खतरा व्यहोर्नुपरेको छ र उनीहरुले यसको ठूलो मूल्य तिरीरहेका छन्। इजरायलीहरुले उग्रवादी समूहहरुमाथि दबाब दिनकालागि सर्वसाधारण र गैरसैनिक ठेगानाहरुलाई निशाना बनाएको स्पष्टै देख्‍न सकिन्छ।"

निशाना

तर इजरायलले प्यालेस्टिनी उग्रवादी संगठन हमासका सदस्यहरु, उनीहरुको हतियार भण्डार तथा प्रशिक्षणस्थललाई मात्र निशाना बनाइएको जनाएको छ।

यसअघि इजरायली अधिकारीहरुले गत साता एकजना प्यालेस्टिनी किशोर मोहम्मद अबु खदेरको हत्यामा संलग्न रहेको आशंकामा कैयौं सन्दिग्ध यहुदीहरुलाई पक्राउ गरेका छन्।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन यहुदी उग्रवादीहरुले ती प्यालेस्टिनी किशोरको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो।

इजरायलले इजरायली किशोरहरुको अपहरण तथा हत्याकालागि प्यालेस्टिनी उग्रवादी समूह हमासमाथि दोष लगाएको थियो।

तर हमासले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

पछिल्ला घटनाहरुले दुबै पक्षबीच तनाव बढाइदिएको छ।

एउटा प्रश्नको जवाफमा एकजना इजरायली मन्त्रीले तत्काल शान्तिको कुनै संभावना नरहेको बताए।