सार्क सम्मेलनको तयारी तीव्र

  • 9 जुलाई 2014
afg
Image caption राष्ट्रपतीय चुनावमा व्यस्त अफगानिस्तानबाहेक अन्य सदस्य मुलुकले कात्तिकमा सहभागी हुनसक्ने जनाइसकेका छन्

आगामी कात्तिकमा हुने भनिएको दक्षिण एसियाली सहयोग संगठन सार्कको अठारौं शिखर सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाइएको अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका अनुसार काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा शिखर सम्मेलन आयोजना हुनेछ।

सम्मेलनमा सहभागी हुने सरकार प्रमुखका लागी विशेष बुलेट प्रुफ कार खरिद गर्ने प्रक्रिया अघि बढाइएको एक जना अधिकारीले बताए।

यसअघि नेपालले दुई पटक सार्क शिखर सम्मेलन आयोजना गरिसकेको छ।

तयारी

सुरुमा पश्चिमको सुन्दर नगरी पोखरामा सार्क शिखर सम्मेलन गरिने चर्चा चलेपनि अन्ततः काठमाण्डुमै हुने टुंगो लागेको छ।

सम्मेलनस्थलको निर्क्यौलसँगै आवश्यक तयारी धमाधम अघि बढाइएको अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले राष्ट्रिय सभागृहसँग जोडिएको नेपाल प्रहरीको क्लबको पर्खाल भत्काएर होल्डिंग रुम बनाउने तयारी भइरहेको बताए।

उनका अनुसार सिहंदरबारको संसदको पुरानो भवन ग्यालरी बैठकमा २ सय ६५ जना अट्ने गरी राखिएका मेचहरु हटाएर रंगरोगन गरी विशेष कक्षको रुपमा तयार पार्न लागिएको छ।

सम्मेलनमा सहभागी हुने सरकार/राष्ट्रप्रमुखहरुको लागि बुलेटप्रुफ कार खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको छ।

जिम्मा

सम्मेलनलाई लक्षित गर्दै स्थानीय विकास मन्त्रालयले सरसफाईको जिम्मेवारी पाएको छ भने भौतिक पूर्वाधारलाई सडक निर्माणको काम दिइएको छ।

बाँस्कोटाका अनुसार शहरी विकास मन्त्रालयले ठाउँ-ठाउँमा बगैँचा बनाउनेछ भने काठमाडौं महानगरपालिकाले पाहुनाहरु जाने रुटमा पर्ने मुख्य सडकका घरहरुमा रंगरोगन गर्ने र खाल्डाखुल्डी पुर्ने काम गर्दैछ।

प्रधानमन्त्री कार्यलयका सचिव बाँस्कोटाले सार्क सम्मेलन नेपाललाई प्रवर्द्धन गर्ने अवसर भएको भन्दै निजी क्षेत्रको पनि पहल आवश्यक भएको बताए।

उनले भने, “शिखर सम्मेलन भइसकेपछि कम्तीमा सात राष्ट्रका नागरिकहरुको ध्यान नेपालतर्फ आकर्षित हुन्छ, यो बेलामा हाम्रो कला, धर्म, संस्कृति सबै प्रदर्शन गर्ने हाम्रो जमर्को रहन्छ।”

सार्क शिखर सम्मेलनपछि नेपालले बिमस्टेक सम्मेलन आयोजनाको पनि अवसर पाउने निश्चित भइसकेकोले त्यसको पनि भरपूर उपयोग गर्नुपर्ने जानकारहरु बताउँछन्।