अर्जेन्टिना २४ वर्षपछि फाइनलमा

  • 10 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption गएको विश्वकपको फाइनलमा पुगेको नेदरल्याण्डस यसपटक सेमिफाइनलबाट बाहिरीएको छ

पेनाल्टी शुटआउटमा नेदरल्याण्डसलाई चार-दुई गोलले पराजित गर्दे दुई पटकको विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको छ।

विश्वकप इतिहासमा चौथो पटक सेमिफाइनल पुगेको अर्जेन्टिनाले चारैपटक खेल जितेको छ।

फाइनल खेल आगामी आइतबार अर्जेन्टिना र जर्मनीबीच ब्राजीलको रियो डि जेनेरियोको माराकाना रंगशालामा खेल्नेछ।

सन् १९९० को फाइनलमा पनि यी दुई टोली खेल्दा जर्मनीले बाजी मारेको थियो।

नायक

अर्जेन्टिनाका गोलरक्षक सर्खियो रोमेरोले विपक्षी खेलाडीका दुई पेनाल्टी प्रहार जोगाएपछि खेलको नायक बने।

तस्वीर कपीराइट Reuters
Image caption खेलका नायक अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो रहे

उनले नेदरल्याण्डसको पहिलो र चौथो पेनाल्टीलाई उत्कृष्ट ढंगबाट रोकेका थिए।

मोनाको क्लबबाट खेल्ने रोमेरोले यो सिजनको अधिकांश समय वैकल्पिक खेलाडीको रुपमा बेन्चमै बिताएकाले राष्ट्रिय टोलीमा राख्दा उनको आलोचना भएको थियो।

त्यो आलोचनाको राम्रो जवाफ दिँदै ‍रोमेरोले जीतको आधार तयार गरेका थिए।

अर्जेन्टिनी टोलीका कसैले पनि पेनाल्टी नगुमाएपछि दक्षिण अमेरिकी टोली फाइनलमा पुगेको थियो।

म्याक्सी रोड्रिगुइजको चौथो पेनाल्टी गोलमा परिणत भएपछि अर्जेन्टिनी खेलाडीहरुको खुशी रंगशालामा पोखिएको थियो।

नेदरल्याण्डसका गोलरक्षक जस्पर सिलेसनले भने अर्जेन्टिनाको चारवटै प्रहार रोक्न असफल भए।

तस्वीर कपीराइट Getty
Image caption अर्जेन्टिना सन् १९९० यता पहिलो पटक फाइनलमा पुगेको हो

उनले क्लब फुटबलमा भोगेको सबै १६ वटा पेनाल्टीमा गोल खाएको इतिहास छ।

पहिले नै तीन खेलाडी परिवर्तन गरेकाले नेदरल्याण्डसका प्रशिक्षक लुइस भान गालले यसअघि अल्जेरिया विरुद्धको खेलमा जस्तै वैकल्पिक हतियारको रुपमा गोलकिपर टिम क्रुललाई पेनाल्टी बचाउनका लागि पठाउन सकेनन्।

निर्धारित र थप समयमा गरी १२० मिनेटसम्म दुवै टोलीले कुनै गोल गर्न सकेनन्।

खुशी

दक्षिण अमेरिकी टोली अर्जेन्टिना २४ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो।

सन् १९९० मा डियागो म्याराडोनाले अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए भने अहिले लियोनेल मेसीद्धारा प्रेरित टोली उपाधि नजिक पुगेको छ।

तस्वीर कपीराइट AP
Image caption नेदरल्याण्डसका आर्येन रोबेनले अर्जेन्टिनामाथी दवाव श्रृजना गर्ने कोसिस गरेका थिए

खेलमा दुवै पक्षले रक्षापंक्तिमा धेरै ध्यान दिएको देखिएको थियो।

प्रतियोगिताको प्रमुख दावेदार मानिएको नेदरल्याण्डसले बलमा नियन्त्रण कायम गरेपनि उसले गरेका आक्रमण फिक्का देखिएको थियो।

टोलीको पहिलो हेर्न लायकको पोष्ट आक्रमण खेलको ९८ ‌औं मिनेटमा आएर मात्र देखिएको थियो जतिबेला आर्येन रोबेनले त्यो प्रहार गरेका थिए।

निर्धारित समय र थप समयमा कुनै गोल नभएको विश्वकपको यो पहिलो सेमिफाइनल थियो।

अर्जेन्टिनाले यो विश्वकपमा पहिलो पटक पेनाल्टी शुटआउटको सहारामा जितेको हो।

तस्वीर कपीराइट REUTERS
Image caption अर्जेन्टिनी राजधानी ब्युनस आयर्समा निस्केको विजय जुलुस

थप समयमा अर्जेन्टिनाले गोल गर्ने दुई सुवर्ण अवसर गुमाएको थियो।

तर प्रतियोगितामा प्रभावशाली खेल देखाउन नसकेको भन्दै थुप्रै फुटबल विश्लेषकहरुले अर्जेन्टिनाले फाइनलमा निकै सुधारिएको खेल देखाउनु पर्ने बताएका छन्।

कप्तान लियोनेल मेसीले केही आकर्षक पास दिएपनि निर्धारित १२० मिनेटमा उनले डि एरिया भित्र एकपटक पनि बल छुन सकेका थिएनन्।

फाइनल

तस्वीर कपीराइट Fifa.com
Image caption सन् १९८६ को विश्वकपमा जर्मनीलाई अर्जेन्टिनाले हराएको थियो

अर्जेन्टिना आफूले खेलेका विश्वकपका चारवटै सेमिफाइनलमा जितेको छ।

आइतवार रियो डि जेनेरियोको माराकाना रंगशालामा उसले जर्मनी विरुद्ध फाइनल खेल्नेछ।

यी दुवै टोलीले सन् १९८६ र १९९० को विश्वकप फाइनलमा खेलेका थिए। त्यतिबेला पश्चिम जर्मनीलाई म्याराडोना प्रेरित अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फाइनलमा ३-२ ले हराएको थियो।

सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनासंगै खेलेको फाइनलमा १-० को बदला सहित उपाधी चुमेको थियो।