अनुत्पादक खर्चको मार

  • 10 जुलाई 2014
अमेरिकि डलर तस्वीर कपीराइट PA
Image caption रेमिट्यान्सका कारण गत एक दशकमा विदेशी मुद्राको संचयमा विशाल विस्तार देखिएको छ

वितेको एक दशकभित्र नेपालले कमाउने गरेको विदेशी मुद्रा करीब ६ दोब्बरले बढेपनि त्यसको अधिकांश भाग अनुत्पादक उपभोगमै खर्च हुने गरेको अर्थविदहरुले बताएका छन्।

विदेशमा काम गर्नेहरुले पठाउने रेमिटेन्स आयको वृद्धिले राष्ट्रको ढुकुटीलाई ह्वात्तै बढाइदिएपनि एकातिर मूल्यवृद्धिको प्रहार अनि अर्कोतिर उपभोगको अत्यधिक विस्तारले गर्दा नेपालीहरुको राष्ट्रिय बचतदर यो क्षेत्रकै कम अर्थात ९ प्रतिशतको हाराहारीमा रहेको छ।

विदेशी मुद्रा

अर्थमन्त्री रामशरण महतद्वारा विहिबार संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण बमोजिम आर्थिक वर्ष २०५९/६० मा राष्ट्रिय ढुकुटीमा एक खर्ब रुपियाँभन्दा केही बढी बराबरको विदेशी मुद्रा थियो। उक्त रकम २०७०/७१ मा साढे ६ खर्ब रुपियाँ बराबर पुग्यो।

तर उल्लेखनीय पक्ष के रहेको छ भने दश वर्ष अघि एक खर्ब रुपियाँ बराबरको विदेशी मुद्राले ९ महिना बराबरको आयात धान्थ्यो भने अहिले साढे ६ खर्ब रुपियाँ बराबरको विदेशी मुद्रालेपनि दश महिनाभन्दा कम समय बराबरको आयात मात्र धानिरहेको छ।

दश वर्षभित्र यति धेरै उपभोग बढेको देखिंदा ती पैसा कस्तो क्षेत्रमा खर्च भयो भन्ने प्रश्न मुख्य बनेको अर्थविदहरु बताउँछन्।

उनीहरु भन्छन् बढेको आयको अधिकांश भाग अनुत्पादक खर्चमै सकिएको छ जसले राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गराउन टेवा पुर्याएको छैन।

अर्थविद डा विश्वम्भर प्याकुर्यालले भने, “नचाहिने क्षेत्रमा अनि पूँजी निर्माण नगर्ने क्षेत्रमा हाम्रो बचत खर्च भएको छ। व्यक्तिगत मात्र होइन राष्ट्रिय स्तरबाट पनि यो रकमलाई अर्थतन्त्रलाई दिगो बनाउने कार्यमा प्रयोग हुन नसक्नु हाम्रो दुर्भाग्य हो।”

हुन त त्यसरी बढेको विदेशी मुद्राको संचितिमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य वृद्धि तथा डलरको तुलनामा खस्किएको नेपाली रुपियाँको भाउलेपनि असर पारेको पाइन्छ।

हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका अर्थविद डा चिरञ्जीवी नेपाल भन्छन्, “रेमिट्यान्सबाट प्राप्त रकमलाई हामीले उत्पादकत्व बढ्ने क्षेत्रमा लगाउन सकेनौं जसले गर्दा हाम्रो परनिर्भरता बढ्दै गयो। अर्कोतिर मूल्य वृद्धिको असरले गर्दा मुद्राको वास्तविक मूल्यपनि घट्दै गयो। यी आँकडाले यही देखाउँछ।”

न्यून बचत

खासगरी रेमिट्यान्सबाट बढेको आम्दानी दैनिक उपभोगकै सामाग्रीमा खर्च हुने गरेको अर्थविदहरु बताउँछन्। वर्षको सवा खर्ब रुपियाँ जति त पेट्रोलियम पदार्थमै सकिन्छ। जसले गर्दा नेपालीहरुको बचत दर यस क्षेत्रकै कम्ती रहेको अर्थविद नेपाल बताउँछन्।

“हामीले यदी सय रुपियाँ कमाउँछौं भने ९१ रुपियाँ खर्च गर्छौ र ९ रुपियाँमात्रै बचत गर्छौं। जबकि चीनमा ५० रुपियाँ बचत गर्छन् भने भारतमा ३४ रुपियाँ बचत गर्छन्। बचत भनेको लगानीका लागि अपरिहार्य हो। त्यसकारण हामीले लगानीको खाडल भर्न सकेका छैनौं,” उनले भने।

यसपालीको आर्थिक सर्वेक्षणले यही असारमा सकिन लागेको आर्थिक वर्षमा आर्थिक वृद्धि दर भने ५ दशमलब २ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

गत वर्ष उक्त दर केवल साढे ३ प्रतिशतको हाराहारीमा थियो।