एमालेमा दुबै समूहका उम्मेदवार घोषणा

  • 10 जुलाई 2014
Image caption अध्यक्ष झलनाथ खनालनिकट मानिने केही नेताहरु माधवकुमार नेपालको समूहमा परेका छन्

महाधिवेशन शुरु भएदेखि छनोटको गृहकार्यमा जुटेको भनिएका नेकपा एमालेको अध्यक्ष पदका दुई प्रतिस्पर्धी नेताहरुले आ-आफ्नो समूहबाट मुख्य पदका उम्मेदवारहरुका नाम घोषणा गरेका छन।

अध्यक्ष पदका लागि बिहीबार नै उम्मेदवारी दर्ता गराएका नेताहरु केपी ओली र माधवकुमार नेपालले आफू पक्षीय पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन।

नेतृत्व चयनका लागि शुक्रबार मतदान हुने सो पार्टीका एकजना निर्वाचन अधिकारीले बताए।

एमालेको जारी नवौं महाधिवेशनको आठौं दिन अध्यक्ष पदका दावेदार केपी ओली र माधवकुमार नेपालले आ-आफ्नो समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिने नेताहरुको नाम घोषणा गरेका हुन्।

पदाधिकारी

विधानमा गरिएको व्यवस्था अनुसार दुबै नेताहरुले निर्वाचनबाट चुनिनुपर्ने अध्यक्षसहित १४ जना पदाधिकारीहरु र १ सय ५९ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेका छन्।

वर्तमान अध्यक्ष झलनाथ खनाल निकट मानिने केही नेताहरु नेपाल समूहमा अटाएपनि अघिल्लो कार्यसमितिका अधिकांश नेताहरु ओली समूहमा परेका छन्।

ओली समूहका पदाधिकारीहरुबारे जानकारी गराउँदै सोही समूहमा समेटिएका नेता प्रदीप ज्ञवालीले भने, ''केपी शर्मा ओली स्वाभाविक रुपले अध्यक्षको उम्मेद्वार हुनुहुन्छ। उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदिप नेपाल, धर्मनाथप्रसाद साह र किरण गुरुङ्ग हुनुहुन्छ। महासचिवमा इश्वर पोख्रेल हुनुहुन्छ भने उपमहासचिवमा विष्णु पौडेल र शंकर पोख्रेल हुनुहुन्छ। त्यसैगरी सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ्ग, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ हुनुहुन्छ।''

निर्वाचन

नेपाल समूहबाट मुख्य पदका लागि चुनावी मैदानमा उत्रिने नेताहरु चाहिं को को छन त?

नेपाल समूहका एक जना नेता रघुजी पन्तले भने, ''अध्यक्षमा माधवकुमार नेपाल भईहाल्नुभयो। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे हुनुहुन्छ। महासचिवमा सुरेन्द्र पाण्डे हुनुहुन्छ। उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुषाल र सचिवहरुमा वेदुराम भुषाल, पर्शुमेघी गुरुङ्ग, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य हुनुहन्छ।''

उक्त पार्टीले गठन गरेको निर्वाचन आयोगले शुक्रबार बिहान ८ बजेदेखि निर्वाचन गराउने तयारी गरेको छ।

नेताहरुले सहमतिका चर्का भाषण दिन नथाकेपनि मतपत्रमै अनौठो चिरा देखिने भएको छ।

मतपत्रको स्वरुपबारे प्रमुख निर्वाचन अधिकारी सोमनाथ अधिकारी प्यासीले भने, ''मतपत्रमा पनि केपी ओली समूहको माथि केपी ओली लेख्छौं। त्यसपछि तल अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचि र सचिव भनेर सर्लक्क राख्छौं। माधबकुमार नेपाल समूहको पनि त्यही ढंगले राख्छौं।''

विद्युतीय उपकरणबाट मतदान नहुने भएपछि निर्वाचनको परिणाम आउन कम्तीमा पनि दुई दिन लाग्ने बताइएको छ।