'व्यापार घाटासंग जुध्ने बजेट आवश्यक'

  • 11 जुलाई 2014
Image caption नेपालको व्यापार घाटा पछिल्ला वर्षहरुमा विकराल रुपले बढ्दै गइरहेको छ।

आईतबार आउन लागेको यस वर्षको बजेटका निम्ति एक प्रमुख चुनौती मानिएको व्यापार घाटा कम पार्न सरकारले उत्पादनमूलक क्षेत्र भरथेग गर्ने अनि कृषिको आन्तरिक उत्पादनमा ध्यान दिने नीति तत्काल ल्याउनु पर्ने विज्ञहरुले बताएका छन्।

गएको एक दशकभित्र व्यापार घाटाको स्तर कहालीलाग्दो रुपमा बढेको भन्दै विज्ञहरुले त्यसको तत्काल समाधान निकाल्न नसके देशको आर्थिक स्थायित्व जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।

हाल नेपालको कूल व्यापार घाटा देशको कूल गार्हस्थ उत्पादनको एक तिहाइ पुगेको छ।

गत असारमा सरकारले पाँच खर्ब १७ अर्ब रुपियाँको बजेट ल्याएको थियो।

नोक्सानी

साउनदेखि वैशाख सम्मको दश महिनाभित्रै नेपालले विदेशी मुलुकहरुसंग गर्ने व्यापारमा पाँच खर्ब रुपियाँभन्दा बढीको नोक्सानी बेहोरेको छ।

त्यसमा पनि कृषि क्षेत्रकै उत्पादनमा देखिएको खाडल सबैभन्दा चिन्ताको विषय बन्न पुगेको निजी क्षेत्रका व्यवसायीहरुले समेत औंल्याउन थालेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले भने, "हामी अहिले आर्थिक वर्ष २०७०/७१ को अन्तमा आइपुग्दा बजेट बराबरको व्यापार घाटा छ। त्यो घाटा मध्येमा पनि कृषि क्षेत्रमा हेर्नुहोस् जति हामी कृषिमा निर्यात गर्छौं त्यसको चारगुना कृषि सामाग्रीकै आयात गर्छौं। यस वर्षमा मात्रै पेट्रोलियम पदार्थ मात्रैमा डेढ खर्ब जाने अवस्था छ।"

पेट्रोलियम पदार्थमा त्यसरी खर्च हुने रकम नेपालले भएभरको सामान निर्यात गरेर कमाउने ७५ अर्ब रुपियाँको करीब दोब्बर हुन पुग्छ।

पेट्रोलियम पदार्थको त तत्काल विकल्प नहोला, तर कृषिको आयात प्रतिस्थापन गर्न चाहिं किन नसकिएको भन्ने प्रश्न अहिले टड्कारो बनेको छ।

चुनौती

व्यापार घाटा पूर्ति गर्न कृषिको व्यवसायीकरण र निर्यातगर्न प्रतिस्पर्धात्मक क्षमता रहिआएको भनिएका कार्पेट, गार्मेण्ट, अलैंची जस्ता १९ वस्तुको उत्पादन प्रबर्द्धन गर्ने नीति बजेट मार्फत ल्याउन विज्ञहरुले सुझाव दिएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद डा शंकर शर्माले भने, "कृषिको कुरा गर्दा सिंचाइ, अनि उन्नत बीउविजनसहित व्यवसायीकरणमा जानु पर्छ। अन्य क्षेत्रको कुरा गर्दा विदेशको अनुभव हेर्ने हो भने विशेष आर्थिक क्षेत्रमार्फत लगानी भित्र्याउन तथा निकासी गर्न निकै सहयोग पुगेको देखिन्छ। त्यही प्रयास हामीले पनि गर्नुपर्छ।"

आइतबार संसदमा प्रस्तुत हुने बजेटको अन्तिम हिसाबकिताबमा लागेका अर्थमन्त्री रामशरण महतलाई व्यापार घाटाको विकराल विस्तारको आँकडाले काँडा सरह बिझिरहेको बुझ्न कठिन छैन।

उक्त काँडा झिक्न आवश्यक नीतिहरु बजेटमार्फत सम्बोधन गर्ने चुनौती अब नेपाली अर्थतन्त्रका एक दिग्गज विज्ञसमेत मानिएका डाक्टर महतको सामु छ।