'एचआईभी मुक्त बालिकामा फेरी संक्रमण'

  • 11 जुलाई 2014
तस्वीर कपीराइट ThinkStock
Image caption प्रत्येक बर्ष झन्डै अढाइ लाख बालबालिका एचआईभी सक्रमण सहित जन्मने गर्छन्

जन्मिदै एचआईभी संक्रमण भएपनि उपचारपछि त्यो निको भएकी एक जना अमेरिकी बालिकामा फेरि संक्रमण देखिएपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।

मिसिसिप्पी राज्यमा एचआईभी संक्रमित आमाबाट जन्मिए लगत्तै ती बालिकालाई दुई दिनसम्म निक्कै आक्रमक ढंगले उपचार गरिएको थियो।

१८ महिनापछि एचआईभी निरोधक औषधि बन्द गरिएकी उनी दुई बर्षयता एचआईभी मुक्त रहेको चिकित्सकहरुले बताएका थिए।

उनको सफल उपचारले प्रत्येक वर्ष एचआईभी संक्रमण सहित जन्मिने अढाइ लाख बालबालिकालाई निको पार्न सकिने आशा जगाएको थियो।

दुखद

अघिल्लो हप्ता गरिएका परिक्षणका क्रममा ४ बर्षेिया ती बालिकामा फेरी एचआईभी पाइएको चिकित्सकहरुले बताएका हुन्।

जन्मेको दुई दिनसम्म एक किसिमको आक्रामक विधिबाट उपचार गरिएकी ती बालिकालाई पछिल्लो दुई बर्ष कुनै औषधी दिइएको थिएन र गएको मार्चमा संक्रमण मुक्त घोषणा गरिएको थियो।

पछिल्लो समाचारले एचआईभी संक्रमण सहित जन्मिएका शिशुहरुलाई तत्कालै औषधिबाट निको पार्न सकिन्छ भन्ने सम्भावनालाई नराम्रो धक्का दिएको बीबीसीका स्वास्थ सम्पादक जेम्स ग्यालेगरको विश्लेषण छ।

मिसिसिप्पीकी बालिका नाम पाएकी उनी एचआईभी मुक्त भएर बाँच्ने छिन भन्ने ठूलो अपेक्षा गरिएको थियो।

अमेरिकाको नेश्नल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डाक्टर एन्थोनी फउसीले भने, “अहिले ती बालिकाको पुन: थेरापी सुरु गरिएको छ र उनले राम्रो गरिरहेकी छन्, उनी पूर्ण रुपमा निको भएको विश्वास अहिले वास्तविकता होइन् भन्ने प्रष्ट भएको छ।”

संक्रमण

विज्ञहरुका अनुसार एन्टिभाइरल औषधिहरुले रगतमा रहेका जीवाणुलाई नियन्त्रण गरेपनि एचआईभी पाचन नली र मस्तिस्कमा रहेका रिजोरभेयर भनिने स्थानहरुमा लुकेर बस्ने गरेको पाइएको छ।

उपचार रोकिएपछि त्यहाँबाट बाहिर आएर जीवाणुहरु शरीरमा पुन: फैलिने ठानिएको छ।

चिकित्सकहरुले जन्मेको केही घण्टाभित्रै उपचार गर्दा रिजोरभेयरको निर्माण नियन्त्रण गर्न सकिने भन्दै उपचार थालेका थिए।

चिकित्सकहरुले उक्त जीवाणु कसरी फेरी देखियो भन्ने अझै थाहा नभएको बताएका छन्।

अहिलेसम्म एकजना व्यस्कको मात्र एचआईभीको उपचार सफल भएको विश्वास गरिन्छ।

सन् २००७ मा एचआईभी प्रतिरोध गर्न सक्ने एकदमै दूर्लभ अनुवांशिक गुण भएको बोन म्यारो एकजना दाताबाट टिमोथी रे ब्राउनमा ट्रान्सप्लान्ट गरिएको थियो।

त्यसको पाँच बर्षभन्दा बढि बित्दा उनीमाथि कुनै संक्रमण देखिएको छैन्।