मुख्य राजमार्गका कैयौं पुल जोखिममा

  • 12 जुलाई 2014
स्टीलबाट बनाइएको पुल
Image caption जोखिममा रहेका पुलहरुमा स्टीलबाट बनाइएका पुलहरु बढी रहेको अधिकारीहरु बताउंछन्

नेपालको राजमार्ग र सहायक मार्गमा रहेका पुलहरु जीर्ण बन्दै जाँदा पनि बेलैमा मर्मत हुन सकिरहेको छैन।

ती मार्गमा रहेका झन्डै १६ सय पुलहरु मध्ये एकसय वटा जोखिममा रहेको तर त्यस्ता १० वटा पुलको मात्र मर्मतसम्भार भएको देखिएको छ।

पुल मर्मतका लागि छुट्टाइने सीमित बजेटका कारण बेलैमा सबै पुलहरु मर्मत गर्न नसकिएको अधिकारीहरुले बताएका छन् ।

ढिलासुस्ती

दैनिक सयौं सवारी साधन आवतजावत गर्ने देशभरका राजमार्ग र सहायक मार्गहरुमा साना र ठूला गरी झन्डै १६ सय पुल रहेको सडक विभागको तथ्याङकमा देखिन्छ।

विभागले पांच वर्ष अघि गरेको एक अध्ययनमा ती पुल मध्ये एक सय वटा जोखिममा रहेको देखाएको थियो, जस मध्ये हालसम्म १० वटा पुलको मात्रै मर्मत सम्भार भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता माधव कार्कीले बताए ।

उनले भने, "सयवटा पुल जोखिममा छ भनेर रिपोर्ट आएको थियो । हामीले त्यसको आधार र पुन: पुलहरुको मूल्याङकन गर्दाखेरि र त्यो बेला भएको बजेट जे थियो त्यो अनुसार गर्दा १० वटा मुख्य पुलहरू मर्मत सम्भार ग-यौं।"

कठिनाइ

ती पुलहरु आरसीसी र स्टीलका गरी दुईखाले प्रविधि प्रयोग गरेर निर्माण गरिएका छन्।

यसरी जोखिममा रहेका पुलहरुमा आरसीसी प्रविधिबाट बनाइएका भन्दा स्टीलबाट बनाइएका पुलहरु बढी रहेको अधिकारीहरु बताउंछन् ।

औसत ५० वर्ष आयु हुने भनिए पनि वातावरणीय प्रभाव, पुलको आसपासबाट गिट्टि बालुवा निकाल्ने काम हुनु, अधिक भारका गाडीहरु सडकमा गुडाउनु र पुललाई गाडीहरुले दिने ठक्करका कारण ती पुलहरु जीर्ण बन्दै गएको बताइएको छ ।

स्टीलबाट बनेका पुलहरु प्रविधिको दृष्टिले पनि मर्मत सम्भार गर्न कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए।

उनले भने ‘मर्मत गर्नका लागि हाम्रो निर्माण कम्पनीको प्राविधिक क्षमता कम भएको र सडक विभाग पनि पुल मर्मतमा त्यति जानकार नरहेको ठान्छु मैले । अप्ठ्यारो काम गर्न हच्किने स्वाभाव छ।’

बजेट अभाव

स्टीलका पुलहरुलाई विस्थापन गर्ने योजना सडक विभागले बनाएको छ, तर हालका लागि तिनै पुलको मर्मत गर्नुको विकल्प देखिदैंन।

विगतमा पुल मर्मत सम्भारका लागि बजेट विनियोजन नगरिएपनि सरकारले आर्थिक वर्ष २०६६/६७ यता भने बजेट छुट्टाउँदै आएको छ ।

तर त्यो बजेट सीमित भएकाले जोखिममा रहेका सबै पुलको मर्मत गर्न नसकिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

उनले भने ‘आरसीसीको लागि हामीले धेरै चिन्ता गर्नु पर्दैन । तर स्टीलको पुलमा ध्यान पु-याउनै पर्नेछ । यो आर्थिक वर्षमा सरकारले पुल मर्मतका लागि पर्याप्त बजेट राख्ने आशा गरेका छौं र त्यो भयो भने पुल मर्मतको काम निरन्तर चलिराख्छ ।‘

हाल प्रयोगमा रहेका सडकका कतिपय पुलहरु प्राविधिक दृष्टिले पनि आयु सकिने बेलातिर पुग्न लागेको अधिकारीहरु बताउंछन्।

दैनिक हजारौं मानिस ओहोरदोहोर गर्ने राजमार्गहरुमा रहेका ती पुलहरु भत्किनु अगावै नसोचे गम्भीर दुर्घटना निम्तन सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन्।