'गाजापट्टीमा मारिने तीन चौथाइ सर्वसाधारण'

  • 12 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption आक्रमणबाट सर्वसाधारण मारिएको विषयमा इजरायल मौन छ

एउटा संयुक्त राष्ट्रसंघीय निकायले गाजापट्टीमा इजरायली हवाइ आक्रमणबाट मारिने प्यालेस्टिनीहरुमध्ये तीन चौथाइभन्दा बढी सर्वसाधारण भएको जनाएको छ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय निकायले प्यालेस्टाइनमा हालसम्म भएको हताहतिमध्ये ७७ प्रतिशत गैरसैनिक भएको बताएको हो।

प्यालेस्टिनी अधिकारीहरुले हालसम्म एक सय २१ जनाभन्दा बढी मानिस मारिएको बताएका छन्।

इजरायलले हमास विद्रोहीहरुलाई आफ्नो भूभागमा रकेट प्रहार गर्नबाट रोक्नका लागि हवाइ आक्रमण गरिरहेको जनाएको छ।

मानवढाल

विद्रोहीहरुले जानाजान मानव वस्ती भएको ठाउँमा सैन्य संरचना खडा गरी मानवढाल बनाएको इजरायलको आरोप छ।

यद्यपि ब्रिटेनस्थित एकजना वरिष्ठ प्यालेस्टिनी अधिकारीले गाजापट्टीमा बाक्लो मानव बस्ती रहेको र हमासलाई लक्षित गरी गरिने जुनसुकै कारवाहीबाट आमनागरिकलाई असर पर्ने बीबीसीलाई बताए।

तर इजरायलले, उसकै शब्दमा, मृत्यु हुनेहरुमध्ये दर्जनौं आतंकवादी रहेको जनाएको छ।

इजरायली सेनाले वरिष्ठ लडाकुहरुको घरसहित विद्रोही र उनीहरुको सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरिरहेको बताएको छ।

युद्धविराम

त्यस्ता ६० वटा ताजा हमला आफ्नो पक्षबाट भएको र प्यालेस्टाइनबाट शनिबार ६ वटा रकेट प्रहार भएको उसले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा कूटनीतिक दबाब तीव्र भएपनि दुवै पक्षले युद्धविराम गर्ने कुनै संकेत देखिएको छैन।

पछिल्लोपटक बेइत लाहियामा इजरेलले अपाङ्गता भएकाहरुको आवासमा आक्रमण गरेको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन्।

उक्त आक्रमणमा दुई जना महिला मारिएको र अन्य चार जना गम्भीर घाइते भएको चिकित्सकहरुले बताए।

त्यसबारे इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन।

गाजापट्टीको उत्तरमा पर्ने क्षेत्रमा थप दुईजना मानिस मारिएका छन्।