माओवादी विवाद मिलाउन नयाँ समिति

  • 13 जुलाई 2014
Image caption मतभेद मेटाउन विराटनगरमा गरिएको राष्ट्रिय सम्मेलनले विवाद झनै चर्काउन सघाएको देखियो

विराटनगर सम्मेलनपछि पार्टीभित्र चुलिएको विवाद समाधान गर्ने सहमतिमा पुगेको एकीकृत नेकपा माओवादीका नेताहरुले बताएका छन।

स्थायी समितिले शनिवार गठन गरेको एउटा समिति र अर्को कार्यदलले पार्टीभित्रको वैचारिक लगायतका विवादलाई संबोधन गर्ने सो पार्टीका प्रवक्ताले बताए।

वरिष्ठ नेता बाबुराम भट्टराई निकट एक नेताका अनुसार पछिल्लो समय देखिएको समस्या समाधान गर्न बीचको बाटो अपनाइएको छ।

परिणाम

स्थायी समिति बैठकले पार्टीभित्रको वैचारिक बहसलाई व्यवस्थित बनाउने भन्दै वैचारिक बहस व्यवस्थापन समिति गठन गरेको हो।

अध्यक्ष प्रचण्ड संयोजकत्वको उक्त समितिमा बाबुराम भट्टराईसहित ६ जना नेताहरु छन।

त्यस्तै जिल्लास्तरमा देखिएका विवादहरु संबोधन गर्नका लागि सचिव वर्षमान पुनको संयोकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको सो पार्टीका प्रवक्ता दिनानाथ शर्माले बताएका छन।

उक्त समिति र कार्यदलले के परिणाम देला?

शर्मा भन्छन्, “समस्याको पहिचान र समाधान गर्न, पार्टीभित्र उठेका विचार बहसलाई मर्यादित, व्यवस्थित र अनुशासित रुपमा तलसम्म लैजान समिति गठन भएको छ। यसले पार्टीको आन्तरिक जीवनमा देखिएका केही जटिलता र समस्यालाई समाधान गर्नेछ।”

बहस जारी

विराटनगरमा गत वैशाखमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि एकीकृत माओवादीभित्रको वैचारिक र संगठनात्मक विषयमा मतभेद छताछुल्ल भएको थियो।

खासगरी असन्तुष्टि जनाउँदै आएका भट्टराई पक्षीय नेताहरुले नेतृत्व चयनका लागि भएको मतदान नै बहिष्कार गरेका थिए।

तर पटक-पटकको छलफलपछि मध्यमार्गी सहमति भएको बताउँछन् भट्टराई निकट नेता देवेन्द्र पौडेल।

उनले भने, “केन्द्रीय समितिले निर्वाचित गरेर टुंगाएका कतिपय निकायहरुप्रति केही साथीहरुको विमति छ। साथै निर्वाचित भएर टुंगिएकाले त्यसलाई मानेर जानुपर्छ भनेर केही साथीहरुको मत छ। त्यो मतलाई व्यवस्थापन गर्नका निम्ति मध्यमार्गी बाटो अपनाऔं भनेर भनिएको हो।”

यद्यपि आगामी महाधिवेशनसम्म वैचारिक बहसलाई भने जारी राख्ने उनको भनाई छ।