विश्वकप फुटबलमा द नेदरल्याण्ड्स तेश्रो

  • 13 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption विश्वकप फाइनलका लागि रियोको माराकाना रंगशाला वरपर सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मी

तेस्रो स्थानको लागि भएको खेलमा द नेदरल्याण्ड्ससंग ३-० को हार ब्यहोरेपछि ब्राजीलको यसपटकको विश्वकप जित्ने सपना उसकै भूमिमा दुखद अन्त्य भएको छ।

यससंगै आयोजक टोलीको भागमा असफलताका कीर्तिमानहरु पनि थपिएको छ।

सेमिफाइनलमा जर्मनीसंग ७-१ ले इतिहासकै लज्जाजनक हार भोगेपछि भएको टोलीको आलोचना र दर्शकमा देखिएको निराशा मेट्न ब्राजील सान्त्वना जीतको खोजीमा थियो।

तर उनीहरुको खेलमा त्यो खोजी पुरा गर्ने शैली देखिएन।

चकनाचुर

नेदरल्याण्ड्सले शुरुको १८ मिनेटमा २ गोल गरेको थियो भने एक गोल खेलको अन्तिम समयमा ठोकेको थियो।

खेल शुरु भएको तेस्रो मिनेटमै पेनाल्टीमा गोल खाएपछि टोलीको सपना चकनाचुर हुन पुगेको थियो।

सेमिफाइनल खेल्न नपाएका ब्राजीली कप्तान रक्षक थियगो सिल्भाले नेदरल्याण्ड्सका आर्यन रोबेनलाई डि बक्स क्षेत्र भित्र लडाएपछि सो पेनाल्टी दिइएको थियो, जसमा नेदरल्याण्डसका कप्तान रोविन भान पर्सीले गोल गरेका थिए।

१८ मिनेटमा २ गोल खाएपछि रंगशालामा स्तब्धता छायो र दर्शकहरुको अनुहारमा फेरी जर्मनीसंगको जस्तै कथा दोहोरिने हो की भन्ने डर प्रकट भएको थियो।

बीबीसीका स्टिभ विल्सन भन्छन्, ब्राजीली खेलाडीहरु जर्मनीसंगको हारबाट उम्किन सकेको देखिएको छैन। उनीहरुले त्यस्तै गल्ती दोहोर्याएका छन्।

हारको कीर्तिमान

सन् १९४० पछि ब्राजील घरेलु भूमीमा लगातार २ खेलमा पराजित भएको हो।

त्यतिबेला ब्राजील, अर्जेन्टिना र उरुग्वेसंग हारेको थियो।

नेदरल्याण्ड्ससंग खाएको ३ गोलले ब्राजीलले जारी विश्वकपमा खाएको कुल गोलसंख्या १४ पुगेको छ, जुन सन् १९८६ मा बेल्जियमपछि कुनै राष्ट्रले खाएको सर्वाधिक गोल संख्या हो।

तस्वीर कपीराइट Getty
Image caption ब्राजीलका प्रशंशकहरु सेमी फाइनलदेखि हारको मारमा स्तब्ध रहे
तस्वीर कपीराइट AFP
Image caption तेश्रो स्थानका लागि खेल्दै ब्राजील र द नेदरल्याण्ड्सका खेलाडि
तस्वीर कपीराइट AFP
Image caption ब्राजील विरुद्ध गोल हानेपछि खुशी मनाउँदै डच खेलाडि भ्यान पर्सी
तस्वीर कपीराइट AFP
Image caption नेदरल्याण्ड्सका रबीन भ्यान पर्सी र फिफा प्रमुख जोसेफ ब्लाटर तेश्रो स्थानका लागि भएको खेलपछि हात मिलाउँदै

दुई खेलमा मात्र ब्राजीलले १० गोल खाएको छ। पछिल्लो १० विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा कुनै एक टोलीले गोल गर्न नसकेको पनि यो पहिलो पटक हो।

संकटमा स्कोलारी

ब्राजीलका स्टार खेलाडी नेयमारले बेन्चमा बसेर सो खेल हेरेका थिए र उनी अधिकांश समय रोइरहेको देखिएका थिए।

चौथो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको ब्राजीलको सपनाको अन्त्यसंगै टोलीका प्रशिक्षक लुइस फिलिप स्कोलारीको जागिर पनि संकटमा रहेको बताइएको छ।

तस्वीर कपीराइट AFP
Image caption विश्वभर फुटबलको ज्वरो चलिरहँदा बलको नजिकै पुगेको चरो

मैदानमा ब्राजीली प्रशिक्षक लुइस फिलिप स्कोलारीको नाम उच्चारण हुंदा कतिपय दर्शकले हुटिङ गरेका थिए ।

केहीले उनी विरुद्ध प्ले कार्ड नै बोकेर आएका थिए।

जसमा लेखिएको थियो - सन् २००२ को लागि धन्यवाद। आशा गरौं अव कहिले भेट नहोला।

स्कोलारीको प्रशिक्षणमा ब्राजीलले सन् २००२ को विश्वकप उपाधी जितेको थियो।

विश्वकपको फाइनल आइतबार राती अर्जेन्टिना र जर्मनीबीच रियोको माराकाना रंगशालामा हुँदैछ।