गाजामा द्वन्द्व जारी

  • 14 जुलाई 2014
शरणार्थीहरु तस्वीर कपीराइट Reuters
Image caption जारी द्वन्द्वका कारण गाजामा सैयौं परिवारहरु विस्थापित भएका छन्

युद्धविरामकालागि अन्तर्राष्ट्रिय दबाब बढिरहेकेा भएतापनि इजरायलले गाजाविरुद्धको सैनिक कारवाही मथ्थर पार्ने कुनै संकेत देखाएको छैन।

गाजाबाट इजरायलमाथि रकेट प्रहार पनि जारी छ।

लेबनान तथा सिरियाबाट पनि इजरायली भूभागमा रकेटहरु प्रहार गरिएका छन्।

प्यालेस्टिनीहरुले गएको सात दिनमा अधिकांश सर्वसाधारण सहित एकसय सत्तरी जनाभन्दा बढी मारिएको जनाएका छन्।

इजरायलीहरु तर्फ कसैको मृत्यु भएको छैन।

चपेटा

इजरायल तथा उग्रवादी प्यालेस्टिनीहरुबीच जारी द्वन्द्वको चपेटामा दुबै देशका सर्वसाधारण नागरिकहरु परिरहेका छन्।

संयुक्त राष्ट्र संघले भनेको छ, इजरायलले उत्तरी गाजाका वासिन्दाहरुलाई तिनका घर छाडन भनेपछि सत्रहजार प्यालेस्टिनीहरुले स्थानीय विद्यालयहरुमा शरण लिइरहेका छन्।

उसले भनेको छ, इजरायली हवाइ हमलामा गएको एक सातामा झण्डै एकहजार घरहरु नष्ट गरिएका छन्।

ब्रिटेनस्थित सहायता संस्था अक्सफामले भनेको छ, खाने पानी, सफाइ प्रणाली, स्वास्थ्य केन्द्र तथा विद्यालयहरु लगायत गाजाका पूर्वाधारहरुमा ठूलो क्षति पुगेको छ।

गाजामा अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुख क्रिश्चियन कार्डनले भने, "हामीले गाजापट्टिको उत्तरी भेगबाट गाजा शहरजस्ता शहरी क्षेत्रतर्फ मानिसहरु गैरहेको सूचना पाएका छौं। गएको चौबीस घन्टामा झण्डै चार हजार मानिसहरु तिनका घर छाडेर हिडेका छन्। यो संख्या बढेर एकलाख पुग्न सक्छ।"

दबाब

गाजामै रहेका बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन्, युद्धविरामकालागि अन्तर्राष्ट्रिय दबाब बढिरहेकेा भएतापनि दुबै पक्ष अझै युद्धविरामकालागि तयार देखिंदैनन्।

हमासले नयाँ र अरु शक्तिशाली क्षेप्यास्त्रहरु इजरायलमाथि प्रहार गर्ने चेतावनी दिएको छ।

इजरायलले पनि आफ्नो भूभागमा रकेट प्रहार जारी रहंदासम्म आफुले हवाइ हमला नरोक्ने जनाएको छ।

प्यालेस्टिनी विदेश मन्त्री रियाद अल मलिकीले इजरायलले हिंसात्मक अभियान जारी राखेमा अझ धेरै ज्यान जाने बताए।

यसअघि इजरायली अधिकारीहरुले गत साता एकजना प्यालेस्टिनी किशोर मोहम्मद अबु खदेरको हत्यामा संलग्न रहेको आशंकामा कैयौं सन्दिग्ध यहुदीहरुलाई पक्राउ गरेका थिए।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन यहुदी उग्रवादीहरुले ती प्यालेस्टिनी किशोरको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो।

इजरायलले इजरायली किशोरहरुको अपहरण तथा हत्याकालागि प्यालेस्टिनी उग्रवादी समूह हमासमाथि दोष लगाएको थियो।

तर हमासले ती आरोपहरुको खण्डन गर्दै आएको छ।