एमालेको अध्यक्षमा ओली निर्वाचित

  • 15 जुलाई 2014
तस्वीर कपीराइट uml
Image caption पदाधिकारीबाहेक अन्य पदको मतगणना बुधबार साँझसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

नेकपा एमालेको नयाँ नेतृत्वमा पूर्वमहासचिव समेत रहेका माधवकुमार नेपाललाई पछि पार्दै संसदीय दलका नेता केपी ओली विजयी भएका छन्।

गत माघमा भएको संसदीय दलका नेता चयनमा अध्यक्ष झलनाथ खनाललाई पछि पारेर पार्टीभित्र बलियो रुपमा देखिएका केपी ओलीले अध्यक्षका अर्का प्रतिस्पर्द्धी नेता नेता माधवकुमार नेपाललाई पछि पार्दै पार्टीको नयाँ नेता बनेका हुन्।

खनाल पक्षको समर्थन दुई अध्यक्षका प्रत्यासी नेपाल र ओली मध्ये जसलाई हुन्छ उसैले अध्यक्षको बाजी मार्ने अड्कलबाजी भइरहँदा नयाँ नेतृत्वमा ओली पुगेका हुन्।

मंगलबार साँझ आएको चुनावको अन्तिम मत परिणामबारे एमालेको निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले भने, 'ओली संसदीय दलको नेतामा १ हजार २ मत ल्याएर विजयी भएका छन्। अन्य उपाध्यक्ष, महासचिव, सचिवलगायत पदाधिकारीमा दुबै प्यानलका सात सातजना छन्।'

राजनीति

२००८ सालमा तेह्रथुममा जन्मिएका ओली २०२८ सालको झापा आन्दोलनबाट सक्रिय रुपमा राजनीतिमा लागेका थिए।

२०३२ सालमा राजकाज अभियोग लागेर १४ वर्ष निरन्तर जेलमा परेका उनी २०५१ सालमा एमालेको ९ महिने सरकार हुँदा गृहमन्त्री भएका थिए।

त्यस यता उनी उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री पनि भएका थिए।

अहिले ओली साथै उनको प्यानलका ५ जना मध्ये दुईजना उपाध्यक्ष र महासचिव पनि निर्वाचित भएका छन्।

पार्टीभित्र नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने विषय जोडदार रुपमा उठ्दै आए पनि नेतृत्व चयनमा पुरानै पुस्ता हावी भएको देखियो।

यस विषयमा नेपाल पक्षका युवा नेता तथा सचिव पदका विजयी नेता योगेश भट्टराइले भने, "हामी जुन मिसनमा निस्किएका थियौं सम्पूर्ण रुपमा सफल त हुन सकेनौं। तर आंशिक रुपमा सफल भएका छौं। यसले नेकपा एमालेको आन्तरिक जीवनलाई थप सुदृढ बनाउने अपेक्षा हामीले गरेका छौं।"

सुरुमा विद्युतीय मेसिनबाट मतदान गर्ने प्रचारवाजी गरे पनि एमालेले अन्तिम समयमा मतपेटिकाबाट २०० पदका लागि चुनाव गरेको थियो।

त्यसमध्ये पदाधिकारीको मतपरिणाम मंगलबार आए पनि बाँक १ सय ८६ पदका लागि भने मतपरिणाम बुधबारसम्म आउने अपेक्षा गरिएको छ।