'स्रेब्रेनिचा मृत्युका लागि नेदरल्याण्डस जिम्मेवार'

  • 16 जुलाई 2014
तस्वीर कपीराइट AP
Image caption नरसंहारको १९ वर्ष पुगेका बेला सैयौं बोस्नियालीहरु गत साता स्रेब्रेनिचा फर्किएका थिए

करीब २० वर्षअघि भएको बोस्नियाली युद्धका बेला स्रेब्रेनिचा भन्ने स्थानमा ३ सय जना मानिसहरुको मृत्युका लागि नेदरल्याण्डसको सरकार जिम्मेवार रहेको त्यहाँको अदालतले ठहर गरेको छ।

एउटा राष्ट्रसंघीय शिविरमा शरण लिएका ती मानिसहरुलाई नेदरल्याण्डसका शान्ति स्थापक सैन्यले स्रेब्रेनिचा सुरक्षित रहेको भन्दै बोस्नियाली सर्व सेनालाई बुझाएका थिए।

तर पछि उनीहरु मारिए।

उक्त घटनालाई दोश्रो विश्वयुद्धपछिको सबैभन्दा नराम्रो नरसंहारका रुपमा हेरिन्छ।

अदालतले उक्त फैसला सुनाउँदै यदि उनीहरुलाई शिविरमा नै बस्न दिइएको भए उनीहरु जीवित हुने लगभग निश्चित रहेको बताएको छ।

मुद्दा

मदर्स अफ स्रेब्रेनिचा अर्थात स्रेब्रेनिचाका आमाहरु नामक समूहले आफ्ना पुरुष नातेदारहरुको संरक्षण गर्न नेदरल्याण्डसको सरकार विफल भएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

ती मारिनेमा नेदरल्याण्डसका शान्तिस्थापक सैन्य शिविरमा शरण लिइरहेका ५ हजारमध्येका ३ सय जना बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरु थिए।

उनीहरुलाई स्रेब्रेनिचा सुरक्षित रहेको भन्दै तत्कालीन बोस्नियाली सर्ब नेता रादोभान काराजिचका सैनिकहरुसंग फिर्ता पठाइएको थियो।

बीबीसी संवाददाता एना हलिगन भन्छिन्, त्यो सुरक्षित भनेर अनुमान गरिएको थियो, तर त्यसपछि युरोपेली सीमामा नाजीपछिकै सबैभन्दा खराबमध्येको एक नरसंहार भयो।

नरसंहार

उक्त नरसंहारमा संलग्न भएको अभियोगमा काराजिच र उनका एक जना जनरलविरुद्ध हेगस्थित राष्ट्रसंघीय अदालतमा मुद्दा चलिरहेको छ।

सन् १९९२ देखि ९५ सम्म चलेको बोस्नियाली युद्धका क्रममा राष्ट्रसंघले स्रेब्रेनिचालाई गैरसैनिकहरुका लागि सुरक्षित स्थलका रुपमा घोषणा गरेको थियो।

तर त्यसको दुई वर्षपछि नै उक्त घोषणा तहननहस हुन पुग्यो।

अदालतको पछिल्लो घोषणालाई निकै महत्वपूर्ण मानिएपनि कतिपय पीडितका परिवारले भने क्षतिपूर्ति नपाउने भएका छन्।

नेदरल्याण्डसको शान्ति सेनाको शिविर वरपर ७ हजार जना मारिएपनि ३ सय जनाको मृत्युका लागि मात्रै अदालतले नेदरल्याण्डस सरकारलाई दोषी ठहर गरेको हो।