तराइमा फष्टाउँदो केरा व्यवसाय

  • 17 जुलाई 2014
Image caption चितवन लगायतका जिल्लामा बढता प्रतिफलका कारण किसानहरु केराको व्यवसायिक खेतीमा लागेका छन्

कुखुराको राजधानीको रुपमा परिचित चितवन अब केराको राजधानी भनेर पनि नाम कमाउन थालेको छ ।

चितवन बाहेक तराइका कैयौं जिल्लामा व्यवसायिक केरा खेती फष्टाइरहेको बताइन्छ।

चितवनका किसानहरुले शुरु गरेको व्यवसायिक केरा खेतीको दैनिक कारोबार नै पन्ध्र लाख रुपैयाजति हुने गरेको बताइएको छ।

अन्य खेति बाट भन्दा केरा खेती बाट तिन गुणा बढी फाईदा हुने भएकोले किसानहरु केरा खेती तर्फ आकर्षित भएको चितवन केरा ब्यबशायी समितिका अध्यक्ष यज्ञ सुबेदी बताउँछन्।

उनी भन्छन्, "विशेष गरी बजारको नजिक छ केराखेती चितवनमा बजारमा छिटो पुर्याउन सकिन्छ मानिसको बानी पनि परिवर्तन भएर फलफुल बढि खान थालेका छन्। त्यसैले यसमा आकर्षण बढेको छ।"

चितवनमा केरा खेती २० बर्ष अगाडि देखि गर्न थालिएपनि ब्यवसायिक केरा खेती भने आठ बर्ष अघि देखि थालिएको हो।

लाखौंको कारोबार

किसानहरुले १० कठ्ठा देखि पचास साठी बिगाहा जमीनमा केरा खेती गरेका छन् ।

चितवनका किसानहरुले हाल नेपालको बिभिन्न स्थानमा दैनिक लाखौ रुपैयाको केरा बिक्री गर्ने गरेको अध्यक्ष सुबेदी बताउँछन्।

केरा खेती अन्य खेती भन्दा सजिलो र बिषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने कृषि बिकास कार्यलयका बरिष्ठ कृषि अधिकृत राजाराम अधिकारी बताउँछन्।

केरा फलफुलको रुपमा र रेष्टुरेण्टहरुमा पनि केराको बिभिन्न परिकारहरु बनाएर बिक्री गर्न थाले पछि केराको माग बढ्दै गएको किसानहरुको भनाइ छ।

माग

नेपालको केराले कुल मागको झण्डै एक तिहाइ पुरा गरेको व्यवसायीको अनुमान छ।

चितवनमा मात्रै करीब ११ सय किसानले १ हजार ६ सय बिगाह जमीनमा केरा खेती गर्दै आएको बताइन्छ ।

नगदे बालीको रुपमा रहेको केरा खेतीको बिस्तार र हावा हुरीको जोखीममा रेहेको केरा खेतीको लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।

केरा खेतीको लागि एक गाउँ एक उत्पादन कार्यक्रमले उपकरणहरुमा सहयोग गर्दै आएको छ ।