मलेसियाली विमान दुर्घटनाग्रस्त

  • 17 जुलाई 2014
दुर्घटनाग्रस्त स्थल तस्वीर कपीराइट Reuters
Image caption मलेसियाली वायुसेवाको विमान पूर्वी युक्रेनमा जलिरहेको अवस्थामा पाइएको बताइएको छ

चालकदलका सदस्य तथा यात्रुहरु सहित झण्डै तीनसय जना सवार मलेसियाली वायुसेवाको विमान रुसी सीमा नजीकै युक्रेनमा दुर्घटनाग्रस्त भएको छ।

मलेसियाली वायुसेवाले बिहीबार एम्सटर्डमबाट क्वालालम्पुर तर्फ जाँदै गरेको उक्त विमान एमएच १७ युक्रेनको आकाशमा उडिरहँदा सम्पर्क विच्छेद भएको जनाएको थियो।

मस्कोस्थित वायुसेवासंग संबद्ध एक सूत्रले रोयटर्स समाचारसंस्थालाई उक्त विमान पूर्वी युक्रेनमा जलिरहेको अवस्थामा पाइएको बताएका छन्।

त्यस क्षेत्रमा पृथकतावादी विद्रोहीहरु युक्रेनका सरकारी सैन्यसंग भीडन्त गरिरहेका छन्।

प्रहार

युक्रेनको गृहमन्त्रीका एकजना सल्लाहकार एन्टोन गेराशेन्कोले भने, "१०,००० मिटरको उचाइमा उडीरहेका बेला बोइङ ७७७ लाई रुस समर्थित पृथकतावादीहरुले क्षेप्यास्त्र प्रहार गरेका थिए।"

डोनेस्कस्थित विद्रोही संगठनका नेताले ती आरोपहरुको खण्डन गरेका छन्।

मलेसियाका प्रधानमन्त्री नजीब रजाकले भनेका छन्, उनी विमान दुर्घटनाको समाचार सुनेर स्तब्ध भएका छन्।

उनले सो दुर्घटनाको तत्काल छानबीन गर्न आदेश पनि दिएका छन्।

ह्वाइट हाउसले भनेको छ, राष्ट्रपति ओबामाले आफ्ना सल्लाहकारहरुलाई सो दुर्घटनाबारे उनलाई अवगत गराइराख्‍न भनेका छन्।

क्षेप्यास्त्र

बीबीसीका एकजना संवाददाता भन्छन्, हालैका साताहरुमा युक्रेनका थुप्रै विमानहरु क्षेप्यास्त्र प्रहार गरी झारिएको छ।

युक्रेनले रुसमाथि विद्रोहीहरुलाई अत्याधुनिक क्षेप्यास्त्रहरु उपलब्ध गराएको आरोप लगाउँदै आएको छ।

युक्रेनी अधिकारीहरुले गत बुधबार उनीहरुको एक लडाकु विमानलाई खसालेको भनी रुसी वायु सेनामाथि दोष लगाएका थिए।

रुसले ती आरोपहरुको खण्डन गर्दै आएको छ।