'विद्रोही नियन्त्रित क्षेत्रबाट विमान ध्वस्त'

  • 19 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption अमेरिकी राष्ट्रपति ओबामाले विहिबारको जहाज दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउने दृढता व्यक्त गरेका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले पूर्वी युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रबाट जमीनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार गरेर मलेसिया एअरलाइन्सको एमएच१७ उडान ध्वस्त पारिएको थियो भनेका छन्।

विहिबार ध्वस्त बनाइएको विमानका सबै २सय९८ यात्रु मारिएका थिए।

ओबामाले आक्रमणलाई 'व्यक्त गर्नै नसिकने किसिमको अपराध' भन्दै 'सत्य बाहिर ल्याउने' दृढता व्यक्त गरेका छन्।

राष्ट्र संघीय सुरक्षा परिषदमा रुसी राजदुतले पूर्वी क्षेत्रमा युक्रेनको सेनाले आक्रमण गरेका कारण यो सबै भएको भनेपछि अमेरिका र रुसबीच भनाभन भएको थियो।

अन्तर्राष्ट्रिय पर्यवेक्षक

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड को अपरेशन इन युरोप (ओएससीइ)का बीसजना जति पर्यवेक्षकहरु ग्राबोभो गाउँमा विमान ध्वस्त भएको ठाउँमा शुक्रबार पुगेका थिए।

तर ओएससीइका लाई स्वीट्जरल्याण्डका राजदुत थोमस जर्मिङ्गरले उनको समुहले उक्त क्षेत्रमा पूर्ण पहुँच पाएन रउनीहरुलाई स्थानीय अबैधानिक सशस्त्र समुहले रोकेको बताए।

दुर्घटनास्थल पुगेका बीबीसी संवाददाता भन्छन्: गहुँ र सूर्यमूखि फूलको खेतको कति ठूलो क्षेत्रमा विमानको भग्नावशेष छरपस्ट छ भन्ने दृष्य आश्चर्यजनक छ।

अनेकथरी सामानका टुक्राहरु र भयावह रुपमा जलेका शरिरको थुप्रो।

तस्वीर कपीराइट AirTeamImages.com
Image caption बोइङ ७७७ आर्मस्टडामबाट क्वालालम्पुर गइरहेको थियो र २९८ यात्रु सवार थिए

यात्रुका सुटकेस, बाली र लोमबोकको गाइडबुक र तिनका छेउमा झरेका ब्यागमा लेखिएका आइ लभ आमर्सटडामहरु।

दुर्घटनाको २४ घन्टापछि पनि छरिएका बस्तुहरुबाट धुँवा उडिरहेको छ।

छरपस्ट

अहिलेसम्म पाइएका हरेक शरिरलाई एउटा लठ्ठी गाडेर सेतो कपडा बाँधिएको छ। र त्यस्ता लठ्ठीहरु छरपस्ट सामान भएका ठाउँमा मात्र होइन खेतैभरी देखिन्छ।

कसैले पनि उक्त क्षेत्रलाई सुरक्षामा लिएको छैन। केहि विद्रोहीहरु बन्दुक सहित घुमिरहेका छन् र केहि अग्नी नियन्त्रक देखिन्छन्।

हामी दुर्घटना ग्रस्त क्षेत्रबाट केहि किलोमीटर टाढाको बाटो बाट गुडिरहँदा पनि थुप्रै टुक्राटाक्री देख्यौं।

तस्वीर कपीराइट AP
Image caption विमान खसेको २४ घन्टा पछि पनि भग्नावशेषबाट आगोको धुवाँ उडिरहेको थियो

बोइङ ७७७ आर्मस्टडामबाट क्वालालम्पुर गइरहेको थियो। डोनेट्स्क नजिकैको लुहान्स्क क्षेत्रमा विमान खसालिएको थियो।

मलेसिया एअरलाइन्सको पछिल्लो तथ्यांक अनुसार १८९ जना नेदरल्याण्ड्सका नागरिकहरु २७ जना अष्ट्रेलियाका नागरिकहरु १५ जना चालकदल सहित ४४ जना मलेसियालीहरु १२ जना इन्डोनेसियाका र १० जना ब्रीटीशहरु लगायत अरु केहि देशका नागरिक थिए।

एकजना अमेरिकी नागरिक पनि थिए।

तस्वीर कपीराइट AP
Image caption गहुँ र सूर्यमुखी फूलको खेतमा खसेको मलेसियन एअरलाइन्सको भग्नावशेष

अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा भने, अब त शान्ति र सुरक्षा स्थापनाको कुरा ओझेलमा पर्न थालिसक्यो। हिंसा र द्वन्द्वले अनिवार्य रुपमा आंकलन नगरिएको परिणाम तर्फ लग्छ।

ओबामाले तत्काल संघर्षविरामको आह्वान गर्दै अनुसन्धानकर्ताहरुलाई पूर्ण पहुँच दिइनुपर्ने र प्रमाणहरु ध्वस्त बनाउन दिन नहुने बताए।

उनले भने, त्यो विश्वव्यापी त्रासदी थियो। सबैका आँखा अब पूर्वी युक्रेनमा पुगेको छ र हामी सत्य बाहिर ल्याएरै छोड्नेमा दृढ छौं।