दुर्घटनास्थलबाट केही शव हटाइयो

  • 19 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption दुर्घटनास्थलमा विज्ञहरुलाई पूर्णरुपमा पहुँच नदिइदा अनुसन्धानमा ढिलाई हुने देखिएको छ

पूर्वी युक्रेनमा मलेसिया एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुमध्ये केहीको शव दुर्घटनास्थलबाट हटाइएको छ।

त्यहाँ रहेका एकजना बीबीसी संवाददाताका अनुसार आफूलाई चिनाउन अस्वीकार गर्ने उद्धारकर्ताहरुको समूहले शव हटाएका हुन्।

यसअघि कियेभले रुस समर्थक पृथकतावादीहरुले दुर्घटनास्थलबाट प्रमाणहरु नष्ट गर्ने प्रयास गरिरहेको आरोप लगाएको थियो।

शनिबार दोस्रो दिन विद्रोहीहरुले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई दुर्घटनास्थलमा सीमित पहुँच मात्रै दिएका थिए।

उद्धारकर्ता

पहिचान नखुलेका केही उद्धारकर्ताहरुले शनिबार नै दुर्घटनास्थलबाट केही शवहरु अन्यत्र लगेको बताइएको छ।

दुर्घटनास्थलमा रहेका बीबीसी संवाददाता रिचर्ड ग्याल्पिन भन्छन्, अन्तत यो बिहान उद्धारकर्ताहरुको एउटा समूह स्ट्रेचर र कालो प्लास्टिकको झोला सहित आए। तर शवहरु पृथकतावादी वा सरकार कसको नियन्त्रणमा रहेको क्षेत्रमा लगिएको हो भन्ने प्रष्ट भएको छैन।

मलेसियाले पनि दुर्घटनास्थलमा अनुसन्धानकर्ताहरुलाई सीमित पहुँच दिइएकोप्रति चिन्ता व्यक्त गरेको छ।

विद्रोहीहरुको नियन्त्रण रहेको पूर्वी युक्रेनमा बिहिबार क्षेप्यास्त्र आक्रमणबाट मलेसियाली विमानलाई खसालिएको बताइएको छ।

आक्रमणबाट विमानमा सवार सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो।

आक्रमण

युक्रेनी सरकार र विद्रोहीहरुले आक्रमणका लागि एकअर्कालाई जिम्मेवार ठहर्याउँदै आएका छन्।

मलेसियाली MH17 विमान आमस्टर्डमबाट क्वालालम्पुर जाँदै थियो।

मलेसिया एयरलाइन्सले सार्वजनिक गरेको ताजा विवरणअनुसार विमानमा १९२ जना नेदरल्याण्ड्सका नागरिक, चालकदलका १५ सदस्यसहति ४४ जना मलेसियाली नागरिक, २७ जना अस्ट्रेलियाली, १२ जना इण्डोनिसयाली, १० जना ब्रिटिस, चार/चार जना जर्मन र बेल्जियन, ३ जना फिलिपिन्सका र एक/एकजना क्यानाडा र न्युजिल्याण्डका नागरिक सवार थिए।

एउटा विज्ञप्तिमा युक्रेनी सरकारले रुस समर्थक विद्रोहीहरुले घटनास्थलबाट ३८ वटा शव उठाएर उनीहरु नियन्त्रित दोनेस्कस्थित शवगृहमा राखेको जनाएको छ।

युक्रेनले विश्व समुदायले उसकै शब्दमा रुसलाई आफ्ना आतंकवादीहरुलाई पछि हटाउनका लागि र युक्रेनी तथा अन्तर्राष्ट्रिय विज्ञहरुलाई घटनास्थलमा जान दिन दबाब दिनुपर्ने बताएको छ।