संवाद समितिद्वारा पुराना ११ बुँदा स्वीकार

  • 21 जुलाई 2014
Image caption सहमति जुटेका बुँदाहरुमाथि संविधानसभाको पूर्ण बैठकमा छलफल गरिने बताइएको छ

नयाँ संविधानमा संघीय वा केन्द्रीय संसद दुई सदनात्मक हुने र संक्रमणकालमा साविककै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई निरन्तरता दिने भनी पहिलो संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई दोस्रो संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले स्वीकारेको छ।

उक्त समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिमा सहमति भएका ४८ वटा बुँदामध्ये ११ वटामा सहमति जुटाएको छ।

सहमति जुटेका विषयहरु छलफलका लागि अब संविधानसभामा प्रस्तुत गरिनेछ।

सहमति जुटेका विषयहरुलाई फटाफट संविधानसभामा पेश गरेर तिनको मस्यौदाका निम्ति मस्यौदा समितिमा पठाउने प्रक्रियाअन्तर्गत सोमबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विगतकै करीब एक दर्जन सहमतिलाई स्वीकारेको हो।

संक्रमणकालीन

तीमध्ये संघीय व्यवस्थापिकाको स्वरुप तथा सङ्क्रमणकालीन व्यवस्था प्रमुख रहेको समितिका सदस्य तथा नेपाली कांग्रेसका सभासद आनन्दप्रसाद ढुंगानाले बताए।

उनले भने, ''केन्द्रीय संघीय सरकारमा दुई सदनात्मक व्यवस्थाको प्रस्तावमा हामीले सहमति जनाएका छौं। राष्ट्रपति र उपराष्ट्रपतिका बारेमा अर्को संविधान नबनुञ्जेलसम्मका लागि संक्रमणकालमा अहिलेकै व्यवस्था रहने भनेका छौं। संविधानसँग बाझिएका बुँदामा एक वर्षभित्र ऐनकानुन बनाइसक्नुपर्ने हामीले निर्णय लिएका छौं।''

यसैगरी संक्रमणकालीन व्यवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रप्रमुखले वाधाअड्काउ फुकाउ आदेश जारी गर्ने बुँदामा समितिले सहमति जुटाएको छ।

मस्यौदा

सहमति जुटेका बुँदाहरु अब कुन प्रक्रियामा जान्छन् भन्ने प्रश्नको जवाफमा समितिका सचिव मुकुन्द शर्माले भने, ''राजनीतिक संवाद समितिले संविधानसभामा सहमतिको प्रतिवेदनको रुपमा पेश गर्छ र संविधानसभाले सहमति भएका त्यस्ता प्रावधानहरुलाई संविधानको मस्यौदा गर्नका लागि मस्यौदा समितिमा पठाउने नियमावलीको व्यवस्था रहेको छ।''

तत्कालिन संवैधानिक समितिले जुटाएका बाँकी बुँदाहरुमा छलफलका लागि समितिको अर्को बैठक बुधबारका लागि डाकिएको छ।

संविधान निर्माणको कार्यतालिका अनुसार आगामी महिनासम्म समितिमा सहमति हुन नसकेका विषयलाई फेरि संविधानसभामा पेश गर्ने र सहमति भएका विषयलाई मस्यौदामा समावेश गरिनेछ।