विद्रोहीले बुझाए दुर्घट्नाग्रस्त विमानको ब्ल्याक बक्स

  • 22 जुलाई 2014
तस्वीर कपीराइट BBC World Service
Image caption दुर्घट्नास्थलबाट संकलन गरिएका २८२ वटा शव लग्न विद्रोहीले अनुमति दिएका छन्

पूर्वी युक्रेनस्थित रुस समर्थक पृथकतावादीले क्षेप्यास्त्र प्रहार गरेर खसालिएको ठानिएको मलेसियाली विमान सेवाको जहाजको दुईवटा ब्ल्याक बक्स मलेसियाली विशेषज्ञलाई हस्तान्तरण गरिएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले दुर्घट्नास्थलमा तत्काल अन्तर्राष्ट्रिय पहुँच उपलब्ध गराउन माग गरेको केही घण्टामा नै डोनेत्स्क शहरमा भएको बैठकमा विद्रोहीहरुका एकजना बरिष्ठ नेताले ब्ल्याक बक्स हस्तान्तरण गरेका हुन्।

विज्ञहरुले तिनको सहायताले दुर्घट्नाको वास्तविक समय, विमानको अवस्था र उसले लिएको उचाईको विवरण प्राप्त हुने बताएका छन्।

बढ्दो प्रमाण

उनीहरुले त्यहाँ ककपिट भ्वाइस रिकर्डर भनिने अर्को उपकरणले दुर्घट्नाको कारणबारे संकेतहरु उपलब्ध गराउने विश्वास लिए छन्।

डोनेत्स्क पुगेको मलेसियाली प्रतिनिधिमण्डलका प्रमुखले ती उपकरणहरु राम्रो स्थितिमा रहेको सम्वाददाताहरुलाई बताएका छन्।

बिहिवार भएको उक्त दुर्घट्नामा विमानमा सवार सबै २९८ जनाको मृत्यु भएको थियो।

पश्चिमा देशहरुले उक्त विमान रुसले विद्रोहीहरुलाई उपलब्ध गराएको क्षेप्यास्त्र प्रहार गरि खसालिएको प्रमाणहरु बढ्दै गएको दावी गरेका छन्।

छानवीन प्रस्ताव

तर रुसले युक्रेनी सरकारी फौजहरु उक्त घट्नाका लागि जिम्मेवार रहेको बताउने गरेको छ।

तस्वीर कपीराइट Getty

यसअघि रुस समर्थक विद्रोहीहरुले दुर्घट्नाग्रस्त स्थानबाट संकलन गरिएका २८२ वटा शव रेल मार्फत डोनेत्स्क लग्न अनुमति दिएका थिए।

उक्त विमान खस्नुका कारण पत्ता लगाउन पूर्ण र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान गरिनु पर्ने अष्ट्रेलियाले प्रस्तुत गरेको प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको छ।

बैठकले दोषिलाई कारवाही गर्न न्याय सुनिश्चित गर्ने प्रयासलाई सघाउन पनि सम्बद्ध पक्षसँग आग्रह गरेको छ।

पृथकतावादीहरुले दुर्घट्नाग्रस्त इलाका आसपासको १० किलोमिटर क्षेत्रमा संघर्ष विरामको घोषणा पनि गरेका छन्।

चेतावनी

बीबीसीका राष्ट्रसंघ मामिला सम्वाददाता निक ब्रायन्ट भन्छन्, “उक्त प्रस्तावका केही शब्दहरुमा असमति जनाए पनि रुसी राजदूतले अन्तत: त्यसको समर्थन गरेका थिए। मस्कोले उक्त प्रस्तावको विपक्षमा भिटो प्रयोग गरेको भए त्यसले थप अन्तर्राष्ट्रिय आलोचना निम्त्याउने देखिन्थ्यो।”

अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विद्रोहीहरुलाई अनुसन्धान प्रभावित गर्नबाट रोक्न आग्रह गरेका छन्।

उनले रुसले नसघाए थप आर्थिक प्रतिबन्धहरु लगाउने चेतावनी दिएका छन्।

बृटिस प्रधानमन्त्री डेभिड क्यामरनले विद्रोहीहरुले विमानलाई मार हुन्न सक्ने बक क्षेप्यास्त्र प्रयोग गरेको हुन सक्ने बलियो प्रमाण फेला परेको बताएका छन्।

रुसले विद्रोहीहरुलाई हतियार वा क्षेप्यास्त्र दिएको आरोप अस्वीकार गर्दै आएको छ।