'विवादित बुँदा परिमार्जन गर्न भारत तयार'

  • 23 जुलाई 2014
तस्वीर कपीराइट bbc
Image caption वादविवादले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई असर नपार्ने भारतीय राजदुतले बताएका छन्

केही दिनयता तीव्र विवादको भुमरीमा परेको नेपाल भारत उर्जा व्यापारसम्बन्धी भारतले पठाएको सम्झौता मस्यौदाका विवादित बुँदालाई परिमार्जन गर्न आफुहरु तयार रहेको नेपालका लागि भारतीय राजदूतले बताएका छन्।

उर्जा क्षेत्रमा सहयोग नामक भारतले पठाएको सम्झौताको उक्त मस्यौदामा रहेको एउटा बुँदाले नेपालको उर्जा क्षेत्रमा भारतीय एकाधिकार स्थापित हुनसक्ने जोखिम रहेको भन्दै कतिपय राजनीतिज्ञ तथा विश्लेषकहरुले आलोचना गरेपछि भारतीय राजदूत रञ्जित रेले विवादित विषय सल्टाउन आफुहरु तयार रहेको जनाएका हुन।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको यसैसाता हुने भ्रमणअघि काठमाण्डूमा चर्किएको सो विवादले केही तिक्तता उत्पन्न गरेपछि भारतीय राजदूतले उक्त भनाइ राखेका हुन्।

अस्वीकार

अखबारमा प्रकाशित भएको र सरकारले खण्डन नगरेको उक्त मस्यौदाको दफा ३ को उपदफा ख मा रहेको उक्त बुँदामा नेपालको जलविद्युत् क्षमताको प्रभावकारी दोहनलाई सहजीकरण गर्न र जलविद्युत् परियोजनाहरूको तीव्र निर्माणमा शतप्रतिशत भारतीय लगानी अथवा भारतीय कम्पनीसहितको संयुक्त लगानीलाई पक्षहरूले सहयोग गर्नेछन् भन्ने उल्लेख छ।

जसलाई कतिपय राजनीतिज्ञ तथा टिप्पणीकारहरुले नेपालको जलविद्युत विकासमा भारतबाहेक अन्यको प्रवेश निषेधको रुपमा अर्थ्याएका छन्।

त्यस्तो व्याख्यालाई भारतीय राजदूत रेले ठाडै अस्वीकार गरे।

विवादित उक्त बुँदा परिवर्तन गर्न भारत तयार रहेको भन्दै उनले भने, “यो त एक प्रारम्भिक मस्यौदा हो जसमा दुई देशबीच बातचीत र सहमति हुन बाँकी छ। नेपाल सरकार, भारत सरकारजस्तै यसमा आफ्नो रुचि अनुसारको परिवर्तन प्रस्ताव गर्न स्वतन्त्र छ।”

परामर्श

रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उनले पछिल्ला वादविवादले मन्त्री स्वराजको भ्रमणको वातावरणलाई कुनै किसिमले असर नपारेको बताए।

बरु यी तर्कवितर्कले मस्यौदालाई थप परिष्कृत बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

“सिद्धान्तकै रुपमा छलफल हुनु राम्रो कुरा हो। मानिसहरु भन्छन् प्रजातन्त्रमा निर्णय प्रक्रिया ज्यादै ढिलो हुने गर्छ। तपाईंले यत्तिका धेरै मानिसहरुसंग परामर्श गर्नुपर्छ अनि सबैलाई समेट्नुपर्छ। तर मलाई के लाग्छ भने यी यावत छलफलको पश्चात लिइने निर्णयनै वास्तवमा बलियो र दीगो निर्णय हुनेछ,” राजदूत रेले भने।

त्यस्ता छलफल यही शुक्रबार मन्त्री स्वराजको भ्रमणताका पनि चल्न सक्ने ठानिएको छ।

उनको भ्रमणपश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी पनि भइरहेको भारतीय राजदूतले जनाएका छन्।