शव बोकेका दुई विमान नेदरल्याण्ड्समा

  • 23 जुलाई 2014
Image caption विमान दुर्घटनामा मृत्यु भएका मानिसहरुप्रति पूर्वी युक्रेनका स्थानीय वासिन्दाले पनि दुःख व्यक्त गरेका छन्

युक्रेनमा भएको मलेसिया एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मानिसहरुको शव बोकेको दोस्रो विमान पनि पूर्वी युक्रेनको खार्किभबाट नेदरल्याण्ड्स पुगेको छ।

जम्मा ४० वटा शवहरु बुधबार आइन्ड होवेन पुराइएको थियो।

मृत्युहुनेहरुमध्ये अधिकांश नेदरल्याण्ड्सका नागरिक छन्, जहाँ बुधबार राष्ट्रिय शोक मनाइदैछ।

शव बोकेका विमान अवतरण गर्नासाथ गिर्जाघरहरुमा लगातार पाँच मिनेटसम्म घण्टाहरु बजाइएको थियो।

शोक

राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

२ सय ८२ शवहरुमध्ये कतिवटा मंगलबार खार्किभ ल्याएको थियो भन्ने स्पष्ट हुन सकेको छैन।

दुर्घटनाग्रस्त विमानको फ्लाइट रेकर्डरहरु ब्रिटेन पुर्याइएको छ।

यसअघि शवहरु बोकेको पहिलो विमान युक्रेनबाट नेदरल्याण्ड्सको लागि उडेको थियो।

विज्ञहरुले त्यहाँ शवहरुको पहिचान गर्नेछन्।

२ सय ९८ जना मृतकहरुमध्ये अधिकांश नेदरल्याण्ड्सका नागरिकहरु थिए।

सबुत

शोक मनाइरहेकी एक डच महिलाले भनिन्, ''हाम्रो समुदाय सानो छ। हाम्रो छिमेकको मानिस पनि त्यस दुर्घटनामा परेका कारण हामी सबै एकदमै दुखी छौ।''

मलेसिया एयरलाइन्सको विमान जुलाइ १७ तारिखमा रुस समर्थक विद्रोहीहरुले आक्रमण गरी खसालेको आरोप लगाइएको छ।

ब्रिटिस सरकारलाई प्राप्त गुप्तचर सूचनाहरुमा विद्रोहीहरुले जानीजानी सबुतहरु तोडमोड गरेको, शवहरु सारेको र भग्नावशेषहरुमा अरु विमानका अंश राखीदिएको जनाइएको छ।

त्यस्तै अमेरिकी गुप्तचर अधिकारीहरुले यसअघि सबुतहरु हेर्दा विद्रोहीहरुले नै विमान खसालेको बताएका थिए।

घटनास्थलबाट खार्किभ लगिएका शवहरुको संख्या विद्रोहीहरुले बढाईचढाई गरेको आरोप पनि लगाइएको छ।

सम्मान

उनीहरुले २ सय ८२ वटा शव ट्रेनमा राखी लगिएको बताएपनि विज्ञहरुले २ सय वटाको मात्र पुष्टि गर्न सकिने बताएका छन।

खार्किभस्थित विमानस्थलमा बुधबार बिहान ४० वटा शवपेटिकाहरु दुईवटा सैनिक विमानमा विस्तारै राखिएका थिए।

खार्किभस्थित बीबीसीका डेनिएल स्याण्डफोर्डले विमानहरु उड्ने बेला राजदूतहरु, अधिकारीहरु र सैनिकहरु भेला भएको बताए।

अष्ट्रेलियाली राजदूत एंगस हुस्टनले उक्त दुखद घटनापछि मृतकहरुले पाउनुपर्ने सम्मान र इज्जत प्रदान गर्नका लागि आफुहरु भेला भएको बताए।

नेदरल्याण्ड्स सरकारका प्रतिनिधि हान्स डक्टरले मृतकहरुले घरसम्मका लागि लामो यात्रा शुरु गरेको बताए।

पहिलो विमान स्थानीय समयअनुसार दिउँसो ४ बजे आइन्ड होवेनमा पुग्दा नेदरल्याण्ड्सका राजा, रानी र प्रधानमन्त्री त्यहाँ उपस्थित थिए।

त्यहाँबाट शवहरु पहिचानका लागि मुलुकको दक्षिणी क्षेत्रस्थित एउटा ब्यारेकमा पुराइने बताइएको छ।