पूर्वी नेपालमा कृषि आम्दानीमा कमी

  • 24 जुलाई 2014
झापाको एक प्लट
Image caption भू उपयोग नीति कार्यान्वयन नहुँदा देशैभर ठूलो परिमाणमा जमिन अव्यवस्थित तरिकाले घडेरिमा बदलिदै छन्

कृषि विकास कार्यालयका कर्मचारीका अनुसार घर जग्गामा परिणत भएका अधिकांश जमिनमा बालुवा तथा गिटी हालेर पुरेका कारण अब खेतीयोग्य जमिनमा फर्काउने संभावना छैन ।

अर्थशास्त्रीहरु भन्छन् पूर्वी तराईको एक विगाह खेतियोग्य जमिनबाट आउने ६० हजार भन्दा बढी आम्दानीले करौडौं रुपैयाँ गुमाउनु परिरहेको छ । जसका कारण भविष्यमा खाद्य संकट बढने संभावना बढेर गएको छ ।

विगतमा बेंठी लगाएर धान रोप्ने गरिएको बुधबारे झापाको हात्तीसुंडेका फाँटमा अहिले धमाधम प्लटिङ भइरहेको छ । बुधबारे ९ का नविन विमलीको अनुभवमा बुधबारेको गहना नै मेटिन लागेको छ ।

उनी भन्छन्, 'हात्तीसुँडे बुधबारेको गहना थियो । अहिले यहाँ धमाधम जग्गा प्लटिङ भइरहेको छ । धेर घर बने । होटलहरु समेत खुलेका छन् ।'

हजारौं विगाह

करीब ६ बर्षअघिबाट घरजग्गा कारोबारका कारण हालसम्म झापामा मात्र पन्ध्रसय हेक्टर अर्थात बाइस सय विगाह भन्दा बढी जग्गा खेतियोग्य जमिनबाट घर घरेडीमा परिवर्तन भएको कृषि विकास कार्यालय झापाले जानकारी दिएको छ ।

यसरी खोला गिटी बालुवा ल्याउँदै पुर्ने गरेका कारण खेतिका लागि उर्वर मानिएका झापा, मोरङ र सुनसरीका चार हजार हेक्टर भन्दा बढी अर्थात छ हजार विगाह भन्दा बढी जमिन घर जग्गामा परिणत भएको ति जिल्लाका कृषि विकास कार्यालयहरुले अनुमान लगाएका छन् ।

जमिनलाई टुक्रा पार्ने काम निरन्तर चलिरहेको मालपोत कार्यालय झापाका अधिकृत महेश भट्टराई बताउँछन् ।

भट्टराई भन्छन्, 'जम्मा रजिस्ट्रेसन पासको ७० प्रतिशत भन्दा माथि घर जग्गाकै आउने गरेको छ । जग्गा टुक्र्याउने काम धमाधम भइरहेको छ ।'

पहाडका जिल्लाहरुमा पनि जग्गा खण्डिकरण गर्ने प्रक्रिया अहिले बढेर गएको सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरुले जनाएका छन् ।

क्षति

कस्ता मानिसले आफ्ना जमिन प्लटिङका लागि बेचिरहेका छन् ? एकजना जग्गा कारोबारी रमेश भुजेल भन्छन्, 'कतिपय मानिसहरु शहरतर्फ जाने हुन्छन् ।

कतिको जग्गा स्याहार गर्ने मानिस हुँदैनन् । उनीहरुको जग्गा किनेर हामी प्लटिङ गरिरहेका छौं।'

एक विगाह जमिन प्लटिङ गर्दा आसपासका करीब २० विगाह जमिनलाई असर गर्ने कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालिग्राम भट्टराई बताउँछन्।

अर्थशास्त्रीहरु भन्छन् राज्यले कृषि उत्पादनमा ठूलो धनराशी गुमाउँदैछ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विषयका सहप्राध्यपक कृष्ण मैनालीका अनुसार एक विगाह जग्गाबाट बार्षिक कम्तीमा ६० हजार रुपैयाँ आम्दानी हुन्छ ।

कृषिविद्हरु भन्छन् खेतियोग्य जमिन संरक्षणका लागि राज्यले नीति कार्यान्वयन नगरे भविष्यमा खाद्य संकट अझ बढेर जाने प्रस्ट छ ।