'गाजामा मारिनेको संख्या एक हजारभन्दा बढी'

  • 26 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption प्यालेस्टिनीहरुले भग्नावशेषमा शवहरु खोजिरहेको बताइएको छ

गाजाका स्वास्थ्य अधिकारीहरुले इजरेल र हमास समूहबीच चर्किएको पछिल्लो द्वन्दमा परी एक हजार भन्दा बढी प्यालेष्टीनीहरुले ज्यान गुमाएको बताएका छन्।

१२ घण्टे युद्धविरामको समयमा ध्वस्त भवनका भग्नावशेषबाट दर्जनौं शवहरु निकालिएको बताइएको छ।

अधिकांश सैनिकसहित झण्डै ४० इजरेलीपनि मारिएका छन्।

युद्धविरामको मौका छोपी गाजाका बासिन्दाहरु घर बाहिर निक्लिएका छन्।

युद्धविरामको समयावधि लम्ब्याउने प्रयासस्वरुप पेरिसमा अन्तर्राष्ट्रिय वार्ता पुनः शुरु हुँदैछ।

जनजीवन

संवाददाताहरुका अनुसार हवाई आक्रमणबाट नराम्ररी प्रभावित क्षेत्रहरु तनावग्रस्त देखिएपनि जनजीवन सामान्य भईरहेको देखिन्छ।

स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरु भएको युद्धविरामका क्रममा हमास विद्रोहीका सुरुङ खोज्ने र त्यसलाई भत्काउने काम जारी राख्ने इजरेलले जनाएको छ।

दक्षिणी गाजास्ट्रिपको खान युनिसस्थित एउटा घरमा इजरेलले शुक्रबार राति गरेको आक्रमणमा परी कम्तीमा १९ जना प्यालेस्टिनीहरु मारिएका छन्।

शुक्रबार राति दुई जना आफ्ना सैनिक पनि मारिएको इजरेली सेनाले पुष्टि गरेको छ।

युद्धविराम

दक्षिणी इजरेली शहर अश्केलोनमा शुक्रबार राति तीन वटा रकेट प्रहार गरिएको अधिकारीहरुले बताएका छन्।

गाजामा रहेका बीबीसीका इयान पान्नेल भन्छन, शेजैया शहरमा अधिकारीहरुको चेतावनीको बावजुद स्थानीय बासिन्दाहरु बिहान ८ बजे फर्कन शुरु गरेका थिए।

विध्वंशका अनौठा दृश्यहरु देखिएका छन्।

घरहरु ध्वस्त भएका छन्।

लामो युद्धविरामको आशामा अमेरिकी विदेशमन्त्री जोन केरिले पेरिसमा, टर्की, कतार र केही युरोपेली मुलुकका विदेशमन्त्रीहरुसँग छलफल गरिरहेका छन्।