'विमान खसाउने कार्य युद्ध अपराध हुन सक्ने'

  • 28 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption दुर्घटनास्थलमा सुरक्षा नदिइएकाले कतिपय सबुत तोडमोड गरिएको हुनसक्ने आशंका गरिएको छ

संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख नवी पिल्लेले करीब दुई साताअघि पूर्वी युक्रेनमा मलेसियाली वायुसेवाको विमानलाई खसाल्ने कार्यलाई युद्ध अपराध मान्न सकिने बताएकी छन्।

युक्रेनी तथा पश्चिमा देशका सरकारहरुले रुस समर्थक विद्रोहीहरुले रुसले उपलब्ध गराएको क्षेप्यास्त्र प्रणालीको प्रयोग गरी सो विमानलाई खसालेको हुन सक्ने बताएका छन्।

तर विद्रोहीहरुले सो विमानलाई आफूहरुले खसालेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।

गत जुलाइ १७ तारिखमा भएको सो विमान दुर्घटनामा त्यसमा सवार सबै दुई सय अन्ठानब्बे जनाको ज्यान गएको थियो।

एकजना युक्रेनी अधिकारीको भनाइमा एमएच १७ विमानको डाटा रेकर्डरबाट ठूलो विष्फोटनका कारण विमान झरेको थाहा भएको छ।

विश्लेषण

सो विमानका दुईवटा ब्लाक बक्सको डाटाको ब्रिटेनस्थित विशेषज्ञहरुले विश्लेषण गरिहरेका छन्।

यसैबीच पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा भीडन्तहरु चर्किरहेका कारण अन्तराष्ट्रिय प्रहरी फौज विमान दुर्घटनास्थल पुग्न सकेको छैन।

युक्रेनी सेनाले दुर्घटनास्थल नजिकैका पूर्वी युक्रेनी नगरहरु पुनः आफ्नो नियन्त्रणमा लिनका लागि लडाइँ भइरहेको जनाएको छ।

दुर्घटनास्थल पुगेर अन्तर्राष्ट्रिय प्रहरीले विशेषज्ञहरुको सहयताले विमानका भग्नावशेष र मानव अवशेषको जाँच गर्न चाहेको छ।

थुप्रै शव र अवशेषहरु नेदरल्याण्डस लगिसकिएको छ।

उक्त विमानका अधिकांश यात्रुहरु नेदरल्याण्डसका वासिन्दा थिए।

उल्लंघन

राष्ट्रसंघीय मानव अधिकार प्रमुख पिल्लेले पूर्वी युक्रेनमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहेको बताउँदै त्यहाँ युद्ध अपराध भएको हुन सक्ने बताइन्।

उनले अन्तर्राष्ट्रिय कानुन नमान्नेहरु जो सुकै र जहाँ सुकै भएपनि कानुनको दायरामा ल्याउनु पर्नेमा जोड दिइन्।

युक्रेनसम्बन्धी पछिल्लो राष्ट्रसंघीय प्रतिवेदनले त्यहाँको द्वन्द्वमा एघार सयभन्दा बढीको ज्यान गइसकेको उल्लेख गरेको छ।

सो द्वन्द्वमा ३५ सय जति व्यक्तिहरु घाइते भएको र दुई लाखभन्दा बढी मानिसहरुलाई विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार सैन्य गतिविधि भइरहेका क्षेत्रहरुमा दुबै पक्षले भारी हातहतियारको प्रयोग गरिरहेका छन्।

रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको दोनेत्स्क शहरमा भएका पछिल्ला भीडन्तहरुपछि युक्रेनी फौजहरुले उल्लेख्य सफलता हासिल गरेको बताइएको छ।