वीर अस्पतालमा हडताल: विरामीलाई सास्ती

  • 30 जुलाई 2014
Image caption चिकित्सकहरुको आन्दोलनका कारण वीर अस्पतालका वार्डहरु रित्तो भएका छन्

देशकै सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा आवासीय चिकित्सकहरुले गरेको हडताल बुधबार चौंथो दिन पनि जारी रहंदा सैयौं बिरामीहरु मारमा परेका छन्।

आवासीय चिकित्सकहरु बिरामीको उपचारमा आउन छोडेपछी पाउनु पर्ने सेवा नपाएको भन्दै बिरामीहरुले अस्पताल छोडने क्रम जारी छ।

आर्थिक अवस्था कमजोर भएका कतिपय बिरामीहरुहरु चिकित्सक कुरेर अस्पतालमा नै बसिरहेका छन्।

आन्दोलनरत चिकित्सकहरुले अत्यावश्यक उपकरणको अभावमा वीर अस्पताल स्वयं बिरामी भएको भन्दै अस्पतालको स्तरवृद्धिको माग गरेका छन्।

प्रभावित

बाह्रैमास खचाखच भरिने वीर अस्पतालका अधिकांश वार्डहरु आन्दोलनका कारण खाली जस्तै बनेका छन्।

विरोधका कार्यक्रम नरोकिएपछि उपचार नपाएको गुनासो गर्दै बिरामीहरु अन्य अस्पतालहरुमा जान वाध्य भएका छन्।

अहिले अस्पतालका वार्डहरुमा अशक्त र आर्थिक अवस्था कमजोर रहेका बिरामीहरु मात्र रहेको "मेल मेडिकल वार्ड" मा कार्यरत नर्स सुस्मिता ढकालले बताईन्।

उनले भनिन, “सक्ने जानु भयो नसक्ने जो अशक्त भएर जान सक्नुहुन्न र अरु नयाँ अस्पतालमा जान सक्ने आर्थिक हैसियत छैन उहाँहरु यहीं नै बसिरहनुभएको छ।”

अन्यौल

अरु बिरामीहरु अन्यत्र लागी सक्दा बाग्लुङबाट आफन्तको उपचार गराउन आएका प्रेम रसाईली भने आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमै बसीरहेका छन्।

चिकित्सकहरु नहुँदा के गर्ने भन्ने अन्यौलमा परेको उनले बताए।

“डाक्टर साबहरुको नाकमुख देख्न पाईएन त्यसो भएर हाम्रो बिरामी त अलपत्रै छ, अप्रेसन पनि छैन एमआरआई जाँच पनि छैन्, कसो गरेर के हुने हो थाहा नै छैन।”

धेरैजसो बिरामी र बिरामीका आफन्तको अवस्था रसाईलीको जस्तै छ।

वार्डमा भर्ना भएका बाहेक देशका विभिन्न भागबाट उपचारका लागि आएका बिरामीहरु अस्पतालकै वरपर अलपत्र अवस्थामा छन्।

बिरामीहरूको अवस्था यस्तो हुंदा पनि न त हडताल गर्ने आवासीय चिकित्सकहरुले आफ्ना अडान छोडेका छन्, न त सरकारले नै उनका मागहरुको सम्बोधन गर्ने कुनै ठोस निर्णय लिएको छ।