विद्यालयमा गरिएको हमलाको निन्दा

  • 30 जुलाई 2014
प्यालेस्टिनी बालबालिकाहरु तस्वीर कपीराइट AP
Image caption महिला, बालबालिका तथा पुरुषहरु सुतीरहेका बेला उक्त हमला गरिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्

प्यालेस्टिनी शरणार्थीहरुकालागि राष्ट्रसंघीय निकायका प्रमुखले भनेका छन्, हजारौं प्यालेस्टिनीहरु शरण लिइरहेको एउटा राष्ट्रसंघीय विद्यालयमा गरिएको हमलाप्रति उनको आक्रोश जतिसुकै शब्दमा पनि वर्णन गर्न सकिंदैन।

पियरे क्रयायनबुलले भने, महिला, बालबालिका तथा पुरुषहरु उनीहरुले सुरक्षित ठानेको स्थलमा सुतीरहेका बेला उक्त हमला गरिएको थियो।

यसअघि गाजास्थित एकजना वरिष्ठ राष्ट्रसंघीय अधिकारीले हजारौं प्यालेस्टिनीहरु शरण लिइरहेको उक्त राष्ट्रसंघीय विद्यालयमा बुधबार बिहानै गरिएको हमला इजरेली पक्षबाटै गरिएको थियो भन्नेमा आफु विश्वस्त रहेको बताए।

गाजास्थित राष्ट्रसंघीय कार्यालयका क्रिस गनेसले भने, उनीहरुले इजरेली अधिकारीहरुलाई जाबालिया शरणार्थी शिविरमा रहेको विद्यालयमा विस्थापित मानिसहरुलाई राखिएको छ भन्ने जानकारी १७ पटक दिएका थिए।

तर त्यहाँ गरिएको हमलामा कम्तीमा पन्ध्रजनाको ज्यान गएको थियो भने नब्बेजनाभन्दा बढी घाइते भएका थिए।

उनले भने, उक्त हमलाले विश्वभरि नै लज्जाको स्थिति खडा गरीदिएको छ।

विभिन्न तस्वीरहरुमा विद्यालयको छत र पर्खालमा ठूल्ठूलो भ्वाङ परेको देखाइएको छ।

हमला

गाजास्थित राष्ट्रसंघको राहत तथा निर्माण कार्यालयका निर्देशक बब टर्नरले भने, उक्त हमलाकालागि इजरेल जिम्मेवार छ भन्ने कुरामा राष्ट्रसंघ विश्वस्त छ।

उनले भने, राष्ट्रसंघीय कर्मचारीहरुले संकलन गरेका अस्त्र नमुनाहरुबाट त्यो उक्त विद्यालयभन्दा उत्तरपूर्वमा रहेका इजरेली सैनिकहरुले प्रहार गरेको गोलाको अवशेष रहेको जस्तो देखिन्छ।

इजरेलले प्यालेस्टिनी उग्रवादी संगठन हमासले विद्यालय तथा सर्वसाधारण नागरिकहरु बसोबास गर्ने इलाकालाई आधार बनाएर हमला गर्ने गरेको आरोप लगाउँदै आएको छ।

उसले उक्त घटनाबारे छानबीन भैरहेको पनि जनाएको छ।

गाजास्थित राष्ट्रसंघीय बालकोष युनिसेफकी प्रमुख पर्निल आइरनसाइडले भनिन्, "वास्तविक कुरा केहो भने मानिसहरुलाई जान अब कहिंपनि सुरक्षित ठाउँ छैन। हरेक घर, हरेक विद्यालय, हरेक आश्रयस्थल अब एउटा निशाना बनीसकेको छ। त्यसले गर्दा गाजामा रहेका सर्वसाधारणको कसरी सुरक्षा गर्नेभन्ने ठूलो चिन्ताको विषय बनेको छ।"

द्वन्द्व

पछिल्लो द्वन्द्वमा झण्डै १२०० प्यालेस्टिनीहरु मारिएका छन् भने ५५ जना इजरेलीहरु तथा इजरेलमा कार्यरत एकजना थाइ नागरिक पनि मारिएका छन्।

ज्यान गुमाउने प्यालेस्टिनीहरुमध्ये अधिकांश सर्वसाधारण छन्।

इजरेलले गाजाबाट आफ्नो भूभागमा रकेट प्रहार गरिएको भन्दै सैनिक कारवाही शुरु गरेको थियो।

हमासले चाहिं इजरेल तथा इजिप्टले गाजामाथि लगाएका नाकावन्दी नहटाएसम्म लडाईं नरोक्ने जनाएको छ।

इजरेल तथा गाजास्थित उग्रवादीहरुबीच जारी यो सबैभन्दा लामो भीडन्त हो।

यसअघि सन् २०१२ मा आठ दिनसम्म र सन् २००८ मा २२ दिनसम्म भीडन्तहरु भएका थिए।