'खाद्यान्न बालीमा आम्दानी कम'

  • 31 जुलाई 2014
Image caption किसानहरु तरकारी र फलफूल खेतीमा आकर्षित हुन थालेको देखिएको छ

धान, गहुँ, मकै जस्ता खाद्यान्न बाली भन्दा नगदे बालीतिर किसानहरु आकर्षित हुन थालेपछि देशमा खाद्य संकट आउन सक्ने भन्दै कृषि सम्बद्ध निकायका अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

खाद्यान्न बालीमा लागत अनुसार प्रतिफल कम हुने भएकोले किसानहरुले यस्तो खेतीलाई प्राथमिकता दिन छोडेको बताइएको छ।

विज्ञहरुले किसानहरुको खेतबारीमा वैज्ञानिकहरु पठाएर सरकारले खाद्यान्न बाली उत्पादनमा लाग्ने खर्च कम गर्ने उपाय सिकाउनुपर्ने सुझाएका छन्।

नत्रभने देश खाद्य संकटमा फस्न सक्ने उनीहरुले चेतावनी दिएका छन्।

हस्तक्षेप

कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालयले गरेको अध्ययनले नेपालको प्रमुख बाली धानमा गरीने लगानीको तुलनामा प्रतिफल अत्यन्त न्यून रहेको देखाएको छ।

सय रुपैयाँ लगानी गर्दा सुनसरीमा ९ रुपैयाँ तथा झापा र सप्तरीमा १० रुपैयाँ नाफा हुने गरेको अध्ययनले देखाएको छ।

तराईका अन्य जिल्लाहरुमा पनि अवस्था यसैको हाराहारीमा छ।

खाद्यान्न बालीभन्दा नगदे बालीमा कैयौं गुणा बढी नाफा हुने भएकोले किसानहरु तरकारी तथा फलफूल तिर बढी आकर्षित भएको बताइएको छ।

यसले अहिले राम्रै परिणाम देखिए पनि भविष्यमा खाद्य सुरक्षामा चुनौति थपिन सक्ने निर्देशनालयका कार्यक्रम निर्देशक हरिबाबु तिवारीले बताए।

उनले भने,“यदी अहिले हस्तक्षेप गर्न सकिएन भने केहि बर्षपछि समस्या आउँछ, त्यसैले खाद्य सुरक्षाका बारेमा थप कार्यक्रमहरु ल्याउनुपर्छ।”

उपाय

धानको तुलनामा गहुँ र मकैमा भने नाफा झण्डै दोब्बर बढी देखिएको छ।

तथापि खाद्यान्न बाली लगाउनमा किसानहरु उदासिन हुदै गएकोले सरकारले लागत घटाउन तिर ध्यान दिनु पर्ने कृषिविद भोलामान सिंह बस्नेतको भनाई छ।

उनले भने, “खेती गर्ने लागत कसरी घटाउने भन्नेबारे बैज्ञानिकहरु किसानसँग भन्ने कार्यक्रम ल्याउनुपर्यो, भारतमा अहिले पनि त्यस्तो कार्यक्रम छ, यहाँ पनि किसानहरुकोमा बैज्ञानिकहरु पठाउने कार्यक्रम ल्याउनुपर्छ।”

अन्न फल्ने सबै जसो जिल्लाहरुमा समेत एकै वर्षमा दुई तीन बालीसम्म तरकारी तथा फलफूल खेती गरीने तर खाद्यान्न बाली भने वर्षमा प्राय: एक पटक मात्रै लगाइने प्रवृत्ति बढेको निर्देशनालयले जनाएको छ।