मोदीसँग रेल निर्माणमा सहयोग माग्न आग्रह

  • 31 जुलाई 2014
तराइकेन्द्रित दलहरुले प्रधानमन्त्री शुसील कोइरालालाई ज्ञापनपत्र बुझाउदैँछन्

नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा सहयोगका लागि कस्ता आयोजना अघि सार्ने भन्ने तयारी गरिरहँदा तराइ केन्द्रीत दलहरुले प्रधानमन्त्रीलाई तराइ सडक आयोजनासहितका ५ विभिन्न क्षेत्रमा सहयोग माग्न शुक्रबार ज्ञापनपत्र बुझाउने भएका छन्।

६ वटा तराइकेन्द्रीत दलहरुले १७ वर्षपछिको भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणलाई देशको हीतमा हुने गरि उर्जा, सडक, रेलमार्ग, चुरे संरक्षण लगायतका क्षेत्रमा सहयोगका लागि अनुरोध गरिनुपर्ने निर्णय गरेका छन्।

मधेसी जनअधिकार फोरम, तराइ मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका ६ वटा तराइ केन्द्रीत पार्टीहरुले उक्त निर्णयलाई ज्ञापनपत्रका रुपमा शुक्रबार प्रधानमन्त्रीलाई बुझाउने बताएका छन्।

सुझाव

बिहीबार बसेको सर्वदलीय बैठकमा समेत आफ्ना सुझावहरु पेश गरेका उनीहरुले लिखित रुपमै शुक्रबार हुलाकी राजमार्ग, तराइ सडक आयोजना लगायतका क्षेत्रमा सहयोग माग्न सुझाउने भएका हुन्।

उक्त ज्ञापनपत्रमा राखिने मागबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “हुलाकी राजमार्ग र तराइ सडक आयोजनाबीचबाट विद्युतिय रेलमार्ग बनाउने गरी सहयोग माग्ने निर्णयको ज्ञापनपत्र हामीले प्रधानमन्त्रीलाई बुझाउने भएका छौं।”

ती बाहेक डिपीआर तयार भइसकेको अरुण तेस्रोलाई भारतीय सहयोगमा निर्माण गर्न अनुरोध गर्ने, विद्युत ब्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीडीए) गर्न पनि आग्रह गर्ने सुझाव उक्त ज्ञापनपत्रमा समेटिएको बताइएको छ।

मुख्य तीन दलले बनाएको कार्यदलले पीटीएको प्रारम्भिक मस्यौदा तयार गरी सरकारलाई सुझाव दिएको छ भने माथिल्लो कर्णालीको पीडीएबारे लगानी बोर्डले सहमति जुटाउने कोशिस गरिरहेको छ।

सद्भावना अध्यक्ष महतोले मोदीको भ्रमणकै क्रममा जलश्रोत सम्बन्धी सम्झौताहरु गर्न पनि सरकारलाई सुझाव दिइने बताए।

महतोले भने, “जलस्रोतको उपयोग गर्न विभिन्न आयोजनामा सम्झौता गर्न, अरुण तेस्रोलाई निर्माण गरिदिन र चुरे संरक्षणमा काम गर्न सुझाउनुपर्ने निर्णय गरेका छौं।”

संसदभन्दा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र ऊ निकट रहेका अन्य साना दलले मोदीको भ्रमणका बेला कुनै असमान सन्धी सम्झौता नगर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइसकेका छन्।