युद्धविराम भङ्ग भएपछि आरोप, प्रत्यारोप

  • 1 अगस्ट 2014

गाजामा घोषणा गरिएको तीनदिने युद्धविराम केही घन्टामै भङ्ग भएपछि इजरेल तथा प्यालेस्टिनीहरु दुबैले एकअर्कामाथि आरोप लगाएका छन्।

तस्वीर कपीराइट AFP
Image caption युद्धविराम शुरु भएको केही घन्टामै भङ्ग भएको थियो

गाजास्थित अधिकारीहरुले दक्षिणी रफाह नजीकै इजरेलले गरेको हमलामा कम्तीमा पैंतीसजनाको ज्यान जानुका साथै एक सय अन्य घाइते भएको जनाएका छन्।

इजरेली सेनाले दक्षिणी गाजामा सुरुङ नष्ट गर्ने अभियानमा संलग्न सैनिकहरुमाथि हमला गरिंदा आफ्ना दुईजना सैनिकहरु मारिएको र एकजना सैनिकलाई अपहरण गरिएको हुनसक्ने बता‌एको छ।

युद्धविराम

तीनसाता भन्दा बढी लामो भीडन्त पछि शुक्रबार बिहान देखि ७२ घन्टे युद्धविराम शुरु भएको थियो, तर केही घन्टाभित्रै त्यो भङ्ग हुनपुग्यो।

इजरेलले दक्षिणी गाजामा सुरुङ नष्ट गर्ने अभियानमा संलग्न आफ्ना सैनिकहरुमाथि हमला गरिंदा आफ्ना दुईजना सैनिकहरु मारिएको र एकजना सैनिकलाई अपहरण गरिएको हुनसक्ने बता‌एको छ।

अब युद्धविराम भङ्ग भएको उसले जनायो।

यसबाट शान्तिको झिनो आशापनि तत्कालकालागि हराएको छ।

मध्य गाजास्थित एउटा शरणार्थी शिविरमा बसीरहेकी नजवा तहिरले भनिन्, "एकैछिनअघि मैले स्थानीय रेडियो सुनीरहेकी थिएँ र उसले इजरेलीहरुले युद्ध विराम भङ्ग भएको घोषणा गरेको बतायो। वास्तवमा यो एकदमै डरलाग्दो कुरा हो। हामीले युद्धविरामपछि फेरि पहिलेकै सामान्य स्थिति कायम हुने आशा गरेका थियौं।"

शान्तिवार्ता

यसअघि सहमति गरिएको ७२ घन्टे युद्धविराम अन्तर्गत इजिप्टमा हुने भनिएको शान्ति वार्ताबारे अनिश्चितता छाएको छ।

एउटा दीर्घकालिन संझौतामा पुग्ने उद्देश्यले वार्ता गरिने बताइएको थियो।

इजिप्टले इजरेल तथा प्यालेस्टिनी दुबै प्रतिनिधिमण्डलहरुलाई कायरो बोलाएको थियो। संयुक्त राष्ट्र संघकालागि प्यालेस्टिनी प्रतिनिधि रियाद मन्सुरले भने, प्यालेस्टिनी प्रतिनिधिमण्डलमा हमासलाई पनि प्रतिनिधित्व गराइनेछ।

संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाले एक संयुक्त वक्तव्य जारी गरी संघर्ष विरामको अवधि आरम्भ नहुंदासम्म संयम अपनाउन सबै पक्षलाई आह्वान गरेको थिए।

हाल भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जन केरीले त्यहांबाट बोल्दै संघर्ष विरामको अर्थ त्यहां द्वन्द्वको अन्त्य भने नभएको बताए।

विगतका सबै संघर्ष विरामका वार्ताहरु दुवै पक्षका परस्पर विरोधी मागहरुका कारण विफल भएका थिए।

हमासले गाजाको घेराबन्दी अन्त्य हुनु पर्छ भन्ने गरेको छ भने इजरेलले आफ्नो सुरक्षाको ग्यारेन्टी हुनु पर्छ भन्दै आएको छ।