सुनकोशीको बहाव खुलाउन विस्फोट

  • 2 अगस्ट 2014
तस्वीर कपीराइट kapil dhital
Image caption पानी बग्न थालेपछि जोखिम केही कम भएको अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् (तस्वीर: कपील धिताल)

नेपालमा सुनकोसी नदी थुनिने गरि आएको पहिरोलाई फुटाएर नदिको वहाव सामान्य गर्नको लागि सेनाको एक टोलीले विष्फोटक पदार्थको प्रयोग गरेको छ।

पहिरो ह्वात्तै फुटेर आउन सक्ने बाढीबाट बच्न सरकारले तल्लो तटमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ।

पहिरोले थुनिन पुगेको नदीको वहावलाई समान्य बनाउन एक प्राविधिक टोलीले विष्फोटक पदार्थ प्रयोग गरेको नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरलले बताए।

"विष्फोट गराएपछि अहिले पानीको सतह विस्तारै विस्तारै घट्न थालेको छ।"

माङ्खा गाउँको जुरेमा आएको पहरोले अरनिको राजमार्गको सानो भाग सहित कैयौं घरहरु बगाएको थियो।

यसअघि सरकारले पहिरोले माङखा गाविसमा थुनिएको सुनकोशी नदीको २ सयमिटर वारिपारिको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

संकटग्रस्त

गृहमन्त्री वामदेव गौतम नेतृत्वको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले नदीको दायाँबायाँ दुई सय मिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।

सरकारले पहिरो गएको सिन्धुपाल्चोक जिल्लाका साथै कोशी नदीको तल्लो तटीय क्षेत्र रहेका काभ्रे, सुनसरी, सप्तरी, ओखलढुंगा, धनकुटा, खोटांग, सिन्धुली लगायत जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ।

समितिको बैठकले प्राविधिक सहयोगका लागि छिमेकी मुलुकहरु भारत र चीनलाई आग्रह गर्ने निर्णय समेत गरेको ढकालले जनाए।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका अनुसार सम्भावित जोखिमबाट बच्न कोशी बाँधका ढोकाहरु खोल्न भारतीय पक्षलाई पनि अनुरोध गरिसकिएको छ।

मृत्यु

सिन्धुपाल्चोकका ‍प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार पहिरोमा परी हालसम्म मृत्यु भएका ८ जनाको शव फेला परेको छ भने ४० जनालाई उपचारका लागि पठाइएको छ।

पहिरोले कम्तीमा ५० वटा घरहरु बगाएको उनले बताए।

पहिरोमा परी बेपत्ता हुने मानिसहरुको संख्या यकीन हुन नसकेको अधिकारीहरुले बताएका छन।

शनिबार बिहान करिब ३ बजेतिर गएको पहिरोले करिब दुईसय मिटर गहिरो, साढे तीन किलोमिटर लामो र पाँचसय मिटर चौडाईको ताल बनाएको ढकालले बताए।