इबोला संक्रमण द्रुत गतिमा

  • 2 अगस्ट 2014
Image caption पश्चिम अफ्रिकी मुलुकहरुमा इबोला भाइरसको प्रकोप फैलिएको छ

पश्चिम अफ्रिकामा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणको प्रयत्न भन्दा द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य संगठन प्रमुख मार्गरेट चानले बताएकी छन्।

क्षेत्रीय नेताहरुको शीखर बैठकमा उनले भनिन्, नियन्त्रण गर्न विफल भए ज्यान जाने संख्याका हिसाबले इबोला भयावह सावित हुन सक्छ।

गत फेब्रुअरी यता गिनि, लाइबेरिया र सियरा लियोनमा ७ सय २८ जनाको ज्यान लिइसकेको यो भाइरसलाई राम्रोसँग व्यवस्थापन गरे रोक्न सकिने उनले बताइन्।

इबोला संक्रमितहरु नब्बे प्रतिशत सम्मको ज्यान जाने बताइन्छ।

संक्रमण

यो संक्रमित रगत या संक्रमित मानिसको शरिरका अरु तरल पदार्थबाट या अंगबाट र प्रदुषित वातावरणमा फैलिन्छ।

विरामीहरुले संक्रमित हुने वित्तिकै उपचार पाए बाँच्न पनि सक्छन्।

तस्वीर कपीराइट Reuters
Image caption इबोला भाइरसको प्रकोप फैलिएपछि पश्चिम अफ्रीकी मुलुकहरुमा सरकारी कार्यालय सरसफाइ गरिँदै छ

शुरुमा रुघाखोकी जस्तो लक्षण विस्तारै आँखा या गिजाबाट रगत बग्ने र आन्तरिक रक्तश्राव हुनेतिर जान्छ जसले अन्तत शरिरको महत्वपूर्ण अंगले काम नगर्ने स्थितिमा पुर्याउन सक्छ।

अचानक उच्च ज्वरो आउने असाध्यै कमजोर महशुस हुने मांशपेशीहरु दुख्ने र घाँटी दुख्ने हुन्छ।

यसको उपचारका लागि छुट्टै बस्ने र तत्काल स्वास्थ्यकर्मीकहाँ पुग्ने गर्नुपर्छ।

यसको उपचार छैन र खोप पनि बनेको छैन।

तस्वीर कपीराइट AFP
Image caption इबोला भाइरसको प्रकोप भएका ठाउँमा जानु अघिको उच्च सतर्कता

सन १९७६ मा पहिलोपटक यो भाइरस पत्ता लागेपछि दर्जनौं महामारी भएका छन् र सबैपटक यो नियन्त्रण पनि भएको थियो।

नियन्त्रण

विशेषज्ञहरुले त्यसैलाई उदाहरण बनाएर पछिल्लो महामारी पनि नियन्त्रण गर्न सकिने बताउँछन्।

तर द्वन्द्बाट बाहिर निस्कँदै गरेका र संसारकै सबभन्दा गरिब मध्येका यो पश्चिम अफ्रिकी क्षेत्रमा मानिसहरुमा रहेको अविश्वासका कारण रोग नियन्त्रणमा समस्या परिरहेको छ।

विज्ञहरु भन्छन्, तालिमप्राप्त हातहरुमा उचित उपकरण पार्नु अत्यावश्यक भइसकेको छ।