नेपालमा उपयोगी छलफल हुने मोदीको आशा

  • 2 अगस्ट 2014
नरेन्द्र मोदी तस्वीर कपीराइट AFP
Image caption साउनको सोमबार पशुपतिनाथको भ्रमण गर्नु आफ्नो सौभाग्य हुने मोदीले बताएका छन्

तीव्र गतिमा परिवर्तन हुँदै गइरहेका दुई देशमाझ नयाँ शताब्दीमा एक नयाँ सम्बन्ध कायम गर्न नेपालको नेतृत्वसँग काम गर्न इच्छुक रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन्।

आफ्नो दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनले एक वक्तव्य जारी गर्दै द्विपक्षीय सहयोगका महत्वपूर्ण क्षेत्रहरु दुई देश मिलेर पहिचान गरिने उल्लेख गरेका छन्।

उनले ती क्षेत्रहरुमध्ये व्यापार र लगानी, जलविद्युत, कृषि, वातावरण, पर्यटन, शिक्षा, संस्कृति तथा खेलकूद रहेको उल्लेख गरेका छन्।

आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ अध्याय शुरु गरी निरन्तर रुपमा राजनीतिक स्तरको सम्बन्ध विकासमा टेवा पुग्ने अनि दुई देशबीच विद्यमान असाधारण सम्बन्धका सबै पाटामा निकट सहयोग हुने भारतीय प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

संबोधन

आईतबार काठमाण्डौं ओर्लिने मोदीले सोही दिन संविधानसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसमाथि नेपालको भ्रमणताका साउन महिनाको सोमबार पारेर भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्न लागेको उनले बताएका छन्।

शनिबार साँझ उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालसंगको उनको व्यक्तिगत भावनाको साइनो रहेकोपनि उल्लेख गरेका छन्।

सोही प्रसंगमा उनले विगतको कथा कोट्याउँदै धेरै वर्ष पहिले एक नेपाली बालक जीतबहादुरलाई असहाय अवस्थामा आफुले भेटेको स्मरण गरे।

साइनो

शुरुमा भाषापनि ठिक ढंगले बोल्न नसक्ने उक्त बालकलाई ईश्वरको प्रेरणाले आफुले हेरचाह गरेको भन्दै उनले ती बालकको नेपालस्थित परिवारको खोजबारे पनि रोचक प्रसंग जोडेका छन्।

खुट्टामा ६ वटा औंला भएका कारण ती बालकको बाबुआमा भेट्टाउन सम्भव भएको भन्दै यसपालीको नेपाल भ्रमणका दौरान उनको परिवारलाई तिनको छोरा बुझाउन पाउँदा खुशीको अनुभव हुने मोदीले जनाएका छन्।

ती बालकको परिवारपनि उत्तिकै खुशी छ।

उनका दाई दशरथ सारुमगरले भाई कसरी मोदीको सम्पर्कमा पुगे भनी सोध्दा यसो भने, शूरुमा त एक महिलाकहाँ पुगेको भन्दैथियो। पढ्ने रुचि देखाएछ अनि पछि कसो कसो नरेन्द्र मोदी कहाँ पुगेछ। मैले बुझे अनुसार अहिलेसम्म पढिरहेको छ।

१७ वर्षपश्चात हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणमा यसपालि राजनीतिक, कुटनीतिकका अतिरिक्त धार्मिक, सांस्कृतिक अनि पारिवारिक भावनात्मक पक्षहरुको पनि बेजोड सम्मिश्रण भएको छ।