'सुनकोशीमा पानीको बहाव खुल्यो'

  • 2 अगस्ट 2014
तस्वीर कपीराइट kapil dhital
Image caption बाढी आउने आशंकामा सुनकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बनेको बताइएको छ

सेनाको प्राविधिक टोलीले विस्फोटनहरु गराएपछि सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीको पानीको बहाव १२ घण्टापछि खुलेको अधिकारीहरुले बताएका छन्।

थुनिएर जम्मा भएको पानीको मात्रा बिस्तारै घट्न थालेको सेनाका एक अधिकारीले बताए।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले कोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका जिल्लाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

शनिबार बिहान करिब तीन बजेतिर गएको पहिरोले सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा थुनिएको सुनकोशी नदीको बहाव खुलाउन स्थलगत निरिक्षणका लागि सेनाले प्राविधिक टोली पठाएको थियो।

उक्त टोलीको सुझावपछि पानीको निकासका निम्ति सेनाले विष्फोटनहरु गराएको थियो।

विस्फोटन

त्यसपछि थुनिएको पानी बग्न थालेको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए।

उनले भने, ''एक पटक तीनवटा चार्ज लगाएर र पछि दुईवटा चार्ज लगाएर हामीले विस्फोटन गरायौं। जसबाट नियन्त्रितरुपमा पानी बगेर बाहिर जाँदैछ। अहिले चाहिँ बिस्तारै-बिस्तारै पानीको मात्रा घट्दो हो।''

गृह मन्त्रालयका अनुसार पहिरोमा परी मृत्यु भएका ८ जनाको शव फेला परेको छ भने २० जना घाईते भएका छन।

उनीहरुमध्ये गम्भीर घाईते भएका ७ जनालाई उपचारका लागि काठमाण्डू ल्याइएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।

संकटग्रस्त

उनका अनुसार गृहमन्त्री वामदेव गौतम नेतृत्वको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले नदीको दायाँबायाँ दुई सय मिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

जोखिमको खतरा रहेका केही जिल्लाहरुमा सतर्कता अपनाउन भनिएको प्रवक्ता ढकालले बताए।

उनले भने, ''काभ्रे, रामेछाप, सिन्धुली, खोटांग, धनकुटा, सुनसरी, सप्तरी लगायतका जिल्लाहरुलाई उच्च सतर्कता अपनाउनका लागि हामीले निर्देशन दिइसकेका छौं। तल्लो तटीय क्षेत्रका सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई सुचना गरेर त्यस क्षेत्रमा नदीका किनारमा बस्ने मानिसहरुलाई तत्काल त्यहाँबाट हटाउनका लागि निर्देशन दिईसकिएको छ।''

पहिरोले केही घर र नेपाल-चीन जोड्ने अरनिको राजमार्गको सानो भाग बगाएको छ।

पहिरोले करिब तीन किलोमिटर लामो, एकसय १० मिटर गहिरो र दुईसयदेखि तीनसय मिटर चौडाईको ताल बनाएको बताइएको छ।

यसअघि बाढीको खतरालाई ध्यानमा राख्दै कोशी ब्यारेजका ढोका खोल्न सरकारले भारतलाई आग्रह गरेको थियो।

सोही आग्रह अनुसार कोशी ब्यारेजका ५६ वटा ढोकाहरु खोलिएको अधिकारीहरुले बताएका छन।