मिलेर संविधान बनाउनुस्: मोदी

  • 4 अगस्ट 2014
तस्वीर कपीराइट epa
Image caption भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण उपलब्धिमूलक भएको नेपालमा टिप्पणी गरिएको छ

नेपालमा निकै महत्वका साथ हेरिएको आफ्नो दुई दिने नेपाल भ्रमणको अन्तिम दिन सोमबार श्रृखंलावद्ध उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माणका लागि मिलेर काम गर्न नेपालका राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

राष्ट्रपतिका साथै सत्तारुढ प्रमुख घटकहरु कांग्रेस र एमाले, प्रमुख विपक्षी एकीकृत माओवादी र हिन्दुवादी राप्रपा नेपालका शीर्ष नेता तथा तराई केन्द्रित नेताहरुसँग छुट्टाछुट्टै भेटेका उनले ती सबै कुराकानीमा त्यस्तो धारणा राखेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाए।

भेटमा सहभागी नेपाली नेताहरुले मोदीको भ्रमणले द्वीपक्षीय सम्बन्धमा नयाँ युगको सुरुवात भएको टिप्पणी गर्दै प्रतिवद्धताहरुको कार्यान्वयनमा जोड दिएको बताइएको छ।

मोदी बसेको होटलमा भेट्न पुगेका नेपाली नेताहरु प्राय: सबैले उनको भ्रमण ऐतिहासिक भएको र त्यसले द्वीपक्षीय सम्बन्धमा रहेका असमझदारीहरु प्रष्ट पार्न मद्दत गरेको निष्कर्ष सुनाएका थिए।

प्रभावित

मोदीको संसद सम्बोधनबाट निकै प्रभावित जस्तो देखिएका नेपाली नेताहरुलाई जवाफमा मोदीले नेपालले नै तोकेको अवधिभित्र मिलेर संविधान जारी गर्न आग्रह गरेको भारतीय विदेशमन्त्रालयका प्रवक्ता सैय्यद अकबरुद्दिनले बताए।

उनले भने, ''उहाँले भेट्नुभएका सबै राजनीतिक दललाई उहांले मिलेर काम गर्न अनुरोध गर्नुभयो। यदि उहाँले भनेको शब्द नै प्रयोग गर्ने हो भने उहांले तपाईहरु दलको हीतमा होइन देशको हीतमा सोचेर काम गर्नुस् भन्नुभयो।''

नेपाली नेताहरुले भने संविधान निर्माणका लागि प्रतिवद्ध रहेको जनाउँदै त्यसमा भारतीय सदभावको अपेक्षा रहेको बताएका थिए।

त्यस्तैमध्येका एक एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले भने, ''नजिकको छिमेकी हुनुको नाताले भारतले जुन सकारात्मक भूमिका खेलिरहेको छ त्यो जारी रहनेछ भन्ने कुरा हामीले राख्यौं। द्वीपक्षीय विविध कुराहरु भए र यसबाट हामी सन्तुष्ट छौं।''

पुनरावलोकन

नेपाली नेताहरुको यस्तो सन्तुष्टिमा सन् १९५० को सन्धि पुनरावलोकन गर्न मोदीले देखाएको तत्परताले पनि बल दिएजस्तो देखिन्थ्यो जुन तत्परतालाई उनको भ्रमणको अन्त्यमा जारी संयुक्त वक्तव्यमा पनि लिपिवद्ध गरिएको छ।

३२ बुँदे उक्त वक्तव्यमा राजनीतिक, आर्थिक, पूर्वाधार, जलस्रोत लगायतका क्षेत्रमा सहकार्य र सहयोगका पक्षदेखि लिएर पशुपतिनाथ, जनकपुर र लुम्बिनीको विकास गर्नेसम्मका विषय समेटिएका छन्।

यस्ता द्वीपक्षीय यावत विषयहरुमा छलफल भएको मोदीको भ्रमणले आफूहरुको मात्रै नभई नेपाली जनताको नै मन मस्तिष्क जितेको निष्कर्ष नेपाली नेताहरुले मोदीलाई सुनाएको अधिकारीहरुले बताएका छन्।

तर यस्ता टिप्पणी भइरहँदा भ्रमणका कारण अस्तव्यस्त बनेको सवारी आवागमनका कारण भने दिनभर जसो काठमान्डूका वासिन्दा अप्ठ्यारोमा परेको देखिन्थ्यो।