'गाजाबाट इजरेली फौज फिर्ता'

  • 5 अगस्ट 2014
तस्वीर कपीराइट AP
Image caption इजरेली आक्रमणमा १८ सयभन्दा बढी प्यालिष्टिनी मारिएको बताइएको छ

इजरेलले आफ्ना सबै सैनिकहरु गाजाबाट फिर्ता हुन थालेको र प्रतिरक्षात्मक अवस्थामा मात्र बसेको जनाएको छ।

इजिप्टको मध्यस्ततामा सोमबार अबेर भएको युद्धविराम स्थानीय समयानुसार मंगलबार बिहान ८ बजेबाट लागू भएपछि उसको त्यस्तो घोषणा आएको हो।

इजरेलले उग्रवादीहरुले प्रयोग गरिरहेका सुरुङहरु नष्ट गर्ने आफ्नो अभियान सफल भएको पनि जनाएको छ।

इजरेली सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल पिटर लिरनरले भने, “इजरेलको डिफेन्स फोर्स अब प्रतिरक्षात्मक कारवाहीका लागि गाजा स्ट्रिपको बाहिरी भागमा मात्र तैनाथ हुनेछ।”

नष्ट

युद्धविराम शुरु हुनु केहि मिनेटअघि मात्र हमासले मध्य इजरेल तर्फ लक्षित रकेट प्रहार गरेपछि जेरुसेलम र तेल अबिबमा हवाई हमलाको साइरन सुनिएको थियो।

उक्त समयमा इजरेली सैनिकले पनि गाजामा धरपकड गरेका थिए।

सैनिक फिर्तिको घोषणा गर्नुअघि जारी गरिएको वक्त्व्यमा इजरेली डिफेन्स फोर्सले आफूमाथि आक्रमण गर्न बनाइएका ३२ वटा सुरुङहरु र ३ हजार मिसाइलहरु नष्ट गरिएको र ९०० ‘आतंकवादीहरु’लाई मारेको जनाएको थियो।

ताजा संघर्ष विरामको बारेमा इजिष्टको राजधानी कायरोमा सोमवार विभिन्न प्यालिष्टिनी समूहरुबीच कुराकानी भएको थियो।

तस्वीर कपीराइट EPA
Image caption इजरेली हमलामा निर्दोशहरु मारिएको भन्दै राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको थियो

प्यालिष्टिनी प्रतिनिधि मण्डलका नेता अज्जाम अल अहमदले आफूहरुले इजिप्ट द्वारा प्रस्तावित संघर्ष विराम स्वीकार गरेको बताए।

सुनिश्चितता

कायरोमा भएका ती छलफलहरुमा इजरेल भने सामेल थिएन्।

तर उक्त छलफलपछि इजरेलले विनासर्त प्रस्ताव मान्न तयार भएको र कायरोमा आफ्नो प्रतिनिधि मण्डल पठाउने जनाएको छ।

इजिप्टले आफ्नो प्रस्ताव स्वीकार गरिएपछि स्थायी संघर्ष विरामको निम्ति वार्ता हुने आशा व्यक्त गरेको छ।

इजरेलका सरकारी प्रवक्ता मार्क रिजेभले भने, “हामी यस्तो खालको संकटपूर्ण अवस्था प्रत्येक छ महिना वा एक वर्षमा भोग्नु नपरे हुन्थ्यो भन्ने चाहन्छौं। हामीले स्थायी र दीर्घकालीन शान्तिको सुनिश्चितता खोजेका छौँ।”

इजरेली सेनाले यसअघि गाजाका केही भागमा घोषणा गरेको सातघण्टा लामो मानवीय संघर्ष विराम अन्त्य भएपछि पूर्ण सैन्य कारवाही शुरु गरेको थियो।

आरोप-प्रत्यारोप

प्यालिष्टिनीहरुले महिला र एउटी आठ वर्षिया बालिकाको ज्यान जाने गरी उत्तरी गाजास्थित शरणार्थी शिविरमा बम प्रहार गरेर इजरेलले आफ्नो उक्त घोषणा उलंघन गरेको आरोप लगाएका थिए।

इजरेलले भने आफ्ना विरुद्ध लडाकूहरुद्वारा रकेट प्रहार जारी राखेको बताएको थियो।

गाजास्थित स्वास्थ्य अधिकारीहरुले एक महिना लामो द्वन्द्वका क्रममा १८ सयभन्दा बढी प्यालिष्टिनीहरु मारिएको बताएका छन्।

इजरेल तर्फ ६७ जनाको मृत्यु भएको जनाइएको छ।

यसअघि पटक-पटक घोषणा गरिएका संघर्ष विराम कुनै लागू भएका थिएनन्।

दुबै पक्षले एक अर्कामाथि संघर्ष विराम तोडेको आरोप लगाउने गरेका थिए।