मोदीको मोहनी

  • 5 अगस्ट 2014

सधैं आशंकाको दृष्टिबाट हेरिने दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपाललाई ‘मोदीमय’ बनाएर फर्किएका छन्।

तल्लोदेखि माथिल्लो तहसम्म व्यापक रुपमा मोदी चर्चाको विषय बने भने उनले संसदमा गरेको सम्बोधनले सभासदहरुमात्रै होइन सामान्यतया भारतप्रति नकरात्मक धारणा राख्ने सर्वसाधारण पनि मन्त्रमुग्ध देखिए।

१७ वर्षपछि भएको भारतबाट प्रधानमन्त्री तहमा भएको नेपाल भ्रमण आफैमा ऐतिहासिक छंदैथियो, त्यसमाथि यहां रहंदा मोदी जुन रुपमा प्रस्तुत भए त्यसले धेरैको मन मस्तिष्क जितेको र दुईपक्षीय सम्बन्धमा नयां अध्यायको सुरुवात भएको प्रशस्तै टिप्पणी भएका छन्।

एउटा जमाना थियो जब नेपाल र भारतका प्रधानमन्त्रीहरु, नेताहरुबीच व्यक्तिगत सम्बन्ध हुने गर्थ्यो। निरन्तर बातचित र पत्र आदानप्रदान भइरहन्थ्यो। दुई पक्षबीच जस्तै ठूला असमझदारीहरु भएपनि सीधै कुराकानी गरेर समाधानको प्रयास गर्ने अवस्था थियो।

तर बिस्तारै बिस्तारै त्यो क्रम भत्किदै गयो।

पछिल्ला केही वर्षहरु त दिल्लीले नेपाल मामिला कर्मचारीतन्त्र र गुप्तचर निकायलाई सुम्पिएको भन्ने तीव्र गुनासाहरु सुनिए जुन धेरै हदसम्म ती निकायको नेपाली राजनीतिक नेताहरुसंगको उठबस र सक्रियताले प्रष्टयाए पनि।

ती निकाय नेपालको आन्तरिक मामिलामा सूक्ष्म व्यवस्थापनको तहसम्म उत्रिएको भन्ने खालको आमधारणाले नेपालमा भारतप्रतिको नकरात्मक सोचले थप जरा गाड्दै गरेको देखियो।

तस्वीर कपीराइट AFP GETTY
Image caption मोदीले आफ्ना नेपाली समकक्षीसंग दुईपक्षीय राजनीतिक सम्बन्ध घनिभूत पार्न जोड दिए

प्रस्थानविन्दु

केही हदसम्म भएपनि त्यो धारणामा सकरात्मक बदलाव ल्याउन मोदीको भ्रमण प्रस्थानविन्दु भएजस्तो देखिन्छ।

उनी स्वयमले आफ्नो नेपाल बसाइको सेरोफेरोमा नेपालसंग राजनीतिक सम्बन्ध घनिभूत पार्ने आफ्नो चाहना बारम्बर प्रकट गरिरहे।

उनका पूर्ववर्ती मनमोहन सिंहले १० वर्ष सत्तासम्हाले तर एकपटक पनि नेपाल पुगेनन्।

नेपालबाट भने बारम्बार राष्ट्र र सरकार प्रमुखहरुको दिल्ली शयर जारी रह्यो।

तर मोदीले दिल्लीमा सत्तासम्हालेको दुई महिनामै नेपाल आएर त्यो लामो शून्यता तोडिदिएका छन् जुन विषयले उनको भ्रमणपूर्वदेखि नै नेपाली पक्षमाझ सकरात्मक सन्देश सञ्चार गरेको थियो।

भ्रमणको सुरुवातमै उनले नेपालीहरुसंग भावनात्मक सम्बन्ध जोड्ने प्रयत्न गरे।

जसको कडी बने उनले शिक्षादीक्षाको व्यवस्था गरिदिएका एक जना नेपाली युवक जीतबहादुर सारुमगर।

सारुमगरलाई परिवारसंग मोदीले मिलन गराइदिएको प्रसंगले सामाजिक सञ्जालदेखि लिएर सञ्चारमाध्यममा राम्रै स्थान पायो।

संसदमा त्यसै दिन उनले गरेको सम्बोधन सबैभन्दा चर्चाको विषय रह्यो।

विक्रम सम्वत २०४६ पछि नेपालको संसदमा सम्बोधन गर्ने पहिलो विदेशी सरकारप्रमुखको इतिहास रच्दै गर्दा उनले नेपाली पक्षका कतिपय संवेदनशीलतालाई सम्बोधन गर्ने प्रयत्न गरे।

नेपाल सार्वभौम मुलुक भएपनि भारतले उसको आन्तरिक मामिलामा अनावश्यक दख्खल दिने गरेको थुप्रै गुनासाहरु भारततिर लक्षित हुने गर्छन्।

त्यसैलाई सम्बोधन गरेको जस्तो शैलीमा उनले आफू कुन दिशामा अघि बढ्ने हो भन्ने तय गर्ने काम नेपालकै भएको र भारतले त्यसमा दख्खल नदिने, नेपालको निर्णयमा सहयोगमात्रै गर्ने बताए।

मोदीले नेपाल सार्वभौम मुलुक भएको टिप्पणीमात्रै गर्दा पनि ताली पिट्ने सभासद्हरुको संख्या ठूलै देखिन्थ्यो।

यसलाई कतिपयले नेपालको संवेदनशीलतालाई सम्बोधन गर्दाको स्वाभाविक प्रतिक्रिया भनेका छन् भने कतिपयले सार्वभौम मुलुकको सार्वभौमिकता कसैले आएर भनिरहनुपर्ने विषय नभएको भन्दै कतिपय नेपाली नेताहरुमा रहेको भनिएको अव्यक्त लघुताभासको अभिव्यक्तिका रुपमा अर्थ्याएका छन्।

तस्वीर कपीराइट PMOIndia
Image caption मोदीलाई नेपालमा ठूलो सम्मान दर्शाउंदै प्रम कोइरालाले उनलाई विमानस्थलमा स्वागत गरेका थिए

अनुमोदन

आफ्ना पूर्ववर्ती मनमोहन सिंह नेतृत्वको सरकार जसको विदेश नीति खासगरी छिमेक नीतिको मोदी कटु आलोचक थिए, त्यसै सरकारको सहजीकरणमा भएको १२ बुंदे समझदारी र त्यसले नेपालमा कोरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मोदीको धारणाबारे विभिन्न आशंका थिए।

उनको हिन्दुवादी छविका कारण धर्मनिरपेक्षताको घोषणा र नेपालमा हिन्दुत्वसंग जोडिने राजसंस्थाको पलायनबारे के धारणा होला भन्ने आम जिज्ञासा स्वाभाविक थियो।

तर संघीय लोकतान्त्रिक गणतन्त्रप्रति उनले जनाएको समर्थनले यस्ता जिज्ञासा धेरै हदसम्म सम्बोधन भएको ठानिएको छ।

साथै बिर्सन नहुने कुरा चाहि के हो भने, तिनै मोदीका राजनीतिक गुरु अटल विहारी बाजपेयी प्रधानमन्त्री हुंदा पहिलोपटक तात्कालीन विद्रोही नेकपा माओवादीले भारतीय संस्थापन र गुप्तचर निकायसंग सम्बन्ध थालेको भन्ने विषय सार्वजनिक भइसकेको छ जुन सम्बन्धलाई नेपालमा गणतन्त्रको जगको रुपमा पनि धेरैले अर्थ्याउने गर्छन्।

अहिले आफ्नै घरमा भारतले पनि माओवादी हिंसाको राप झेलिरहेको बेला मोदीले घुमाउरो पारामा उनीहरुप्रति लक्षित गर्दै नेपाली माओवादीहरुले समातेको शान्तिपूर्ण बाटोको पटकपटक प्रशंसा गरे।

‘शस्त्रदेखि शास्त्र’ अनि ‘युद्धदेखि बुद्ध’को यो बाटो संविधान लेखिए विश्वसामू नै उदाहरणीय हुने भन्दै मोदीले नेपाली नेताहरुलाई हौस्याए पनि।

नेपालका असीम सम्भावनाबारे उनले चर्चा गर्दै त्यसमा सहकार्य र सहयोगको भारतीय हात बढाउंदा पनि धेरैमा हौसला देखियो।

जसले कतिपयको बुझाइमा केहीमात्रामा भएपनि भारतविरोधी भावनालाई मत्थर पार्न र अपनत्व महसुस गराउन भूमिका खेल्यो।

जलस्रोत क्षेत्रमा भएका सहमति पनि वर्षौदेखि थाती रहेका मुद्दालाई एकपटक फेरि पुनर्जीवन दिने खालका देखिन्छन् जसमा सबैभन्दा प्रमुख पञ्चेश्वर आयोजना हो।

वर्षौदेखि अड्किएको पञ्चेश्वर आयोजनालाई अघि बढाउन छ महिनाभित्र प्राधिकरण गठन गर्ने र अर्को छ महिनामा विस्तृत योजना प्रतिवेदन डीपीआर तयार पार्न दुई प्रधानमन्त्रीबीच भएको सहमतिले सकरात्मक सन्देश दिएको छ।

विवादको केन्द्रमा रहेको उर्जा व्यापार सम्झौता तथा माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता पीडीए दुवै मुलुकको हीतमा हुने गरी डेढ महिनाभित्र टुंग्याउने सहमतिले पनि धेरै अवसरको ढोका खोल्ने ठानिएको छ।

नेपालको जलसम्दामा भारतले एकाधिकार कायम गर्न खोजेको आरोपहरुमाझ दुवै मुलुकको स्वार्थ सम्बोधन हुने खालको सम्झौता गर्ने वातावरण बनाउनु भारतकै लागि हीतकर हुनेछ कतिपय विश्लेषकहरुको धारणा छ।

सन्देश

प्राय: सबै उच्चस्तरीय राजनीतिक भेटवार्ताहरुमा उनले दिएको साझा सन्देश पनि दिल्लीको बद्लिएको रुप झल्काउने खालको भएको जानकारहरुको बुझाइ छ।

‘दलको होइन मुलुकको हीत सोचर काम गर्न’ उनले दिएको सुझाव झट्ट सुन्दा कतिपय नेपाली नेतालाई अपाच्यजस्तो लागेपनि विदेश नीति खासगरी भारतनीतिलाई दलको स्वार्थ अनुकूल प्रयोग गर्न खोज्ने कतिपय नेपाली दलको प्रवृतिको अस्वीकारोक्ति मोदीबाट प्रष्ट रुपमा आएको बुझ्न कठीन छैन।

क्षेत्रीय राजनीति गर्ने कतिपय तराईकेन्द्रित नेताहरुलाई समग्र देशकैबारेमा सोच्न उनले दिएको भनिएको सुझावले तराईका नेताहरुलाई उचालेर भारतले विभाजनकारी भूमिका भित्रभित्रै खेल्ने गरेको ठान्ने कतिपय आलोचकहरुलाई गतिलै जवाफ दिएको हुनुपर्छ।

तर बेलाबेलामा कूटनीतिमा देखिने, सुनिने भन्दा पर्दाभित्रै नितान्त भिन्नै खेलहरु हुने यथार्थमाझ मोदीका ती भनाइ सत्यताको धरातलमा कति समयसम्म टिकिरहलान् त्यो हेर्न भने उनका भविष्यकै रवैयाहरु हेर्नुपर्ने हुन्छ।

नेपालमा रहंदा प्रतिवद्धताहरु कार्यान्वयनमा पटकपटक जोड दिएका मोदीले दिल्ली फर्किएलगत्तै पनि आफ्ना वाचाहरु पूरा गर्न कुनै कसर बांकी नराख्ने भनी जारी गरेको वक्तव्यले यस्ता आशंका गर्नेहरुलाई केही हदसम्म जवाफ दिएको ठान्नेहरु पनि थुप्रै छन्।

नेपाली नेताहरुले मोदी भ्रमणमा भएका विषयलाई कतिको कुशलताका साथ निरन्तरता दिन सक्छन्, त्यो पनि उत्तिकै महत्वपूर्ण हुनेछ।